१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे छानबिन गर्ने


897
Shares

काठमाडौं, माघ २५ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे संसदीय समितिले छानवीन गर्ने भएको छ ।

संघीय संसद अन्र्तगत राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको आज सिंहदरवारमा बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे छानवीन गर्न समिति गठन गरेको हो ।

समितिमा सांसद दुर्गा पौडेल संयोजक र सदस्यमा खेम लोहनी र लक्ष्मी परियार सरहेका छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धि र त्यसको बैकल्पिक व्यवस्था गरेर जनतालाई राहत दिने गरी सरकारलाई आवश्यक सुझाव दिन सो उपसमिति गठन गर्नु परेको समितिकी सभापति निरादेवी जैरुले जानकारी दिनुभयो ।

बैठकमा समितिका सदस्यहरुले आयातित पेट्रोलियम पदार्थका कारण जनता मारमा परेको उल्लेख गर्दै त्यसबाट निकास दिने उपाय खोज्न सरकारसँग माग गरेका थिए । नेपाल भित्र पेट्रोलियम पदार्थको अन्वेषणको कामलाई तीव्र गतिका साथ अघि बढाउन उनीहरुले सरकारसँग माग गरे । एमाले नेता एवम् सांसद भिम रावलले नेपाल भित्र पेट्रोलियम पदार्थको अन्वेषण गरेर त्यसको आवश्यक व्यवस्था मिलाउने काममा तीव्रता दिन सरकारलाई सचेत गराउनुभयो ।

कांग्रेस नेता एवम् सांसद राधेश्याम अधिकारीले पेट्रोलियम पदार्थको चुहावट नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । माओवादी केन्द्रका नेता दिनानाथ शर्माले विद्युत खपत बढाएर पेट्रोलियम पदार्थबाट हुने घाटा कम गर्दै लैजान सरकारसँग माग गर्नुभयो ।

यता, नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले खरिद भन्दा बिक्री मूल्य कम भएकाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नु परेको स्पष्टिकरण दिनु भएको थियो । उहाँले आयल निगम घाटामा गएकाले सरकारसँग आवश्यक कोषको व्यवस्था गर्न आग्रह गरिएको पनि बताउनुभयो ।

निगमले सरकारलाई कर बुझाउनुपर्ने अवस्था भएकाले पनि झनै घाटाको सामना गरिरहनु परेको जनाएको छ ।