Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


‘बीओपी’ स्थापनासँगै सीमा विवादका घटनामा कमी


0
Shares

दुर्गा उपाध्याय (इमेज)

कञ्चनपुर, फागुन ९ । भारतसँग सीमा जोडिएका धेरै स्थानमा सीमा विवादको समस्या भइरहने कञ्चनपुरमा पछिल्लो समय केही सुधार भएको छ ।

सरकारले ठाउँ–ठाउँमा सशस्त्र प्रहरीको ‘बीओपी’ स्थापना गरेसँगै सीमा विवादका घटनामा कमी आएपछि स्थानीय पनि खुसी बनेका छन् ।

सीमा क्षेत्रमा सुरक्षा निकायको कम उपस्थितिका कारण यसअघि भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गर्नुको साथै नेपालमै आएरसमेत हस्तक्षेप गर्ने गरेका थिए ।

तर, पछिल्लो समय सरकारले ठाउँ–ठाउँमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरेसँगै सीमा विवादका घटनामा कमी आएको छ ।

सीमा क्षेत्रमा वर्षौंदेखि भारतीयको सास्ती खेप्दै आएका कञ्चनपुरको पुनर्वास नगरपालिका–४, आनन्दबजारका स्थानीयले वर्षौंपछि राहत महसुस गरेका छन् ।

आफ्नै जमिन भोगचलन गर्दा पनि भारतीय सुरक्षाकर्मीको ज्यादती सहँदै आएका उनीहरुले पछिल्लो समय भने त्यसबाट मुक्ति पाएका छन् ।

दुई वर्षअघिसम्म भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमै आएर स्थानीयलाई खनजोत तथा बाली भित्र्याउन अवरोध गर्ने गर्दथे ।

उनीहरुले नेपालीका घरभित्रै पसेर दुर्व्यवहार गर्ने गरेपनि सीमामा नेपाली सुरक्षा निकाय बसेपछि भने आउन छोडेको पुनर्वासका स्थानीयवासीको भनाइ छ ।

अर्कोतिर भारतीय पक्षले हस्तक्षेप गरेर नियन्त्रणमा लिएको जग्गा भने फिर्ता भएको छैन । हातमा लालपुर्जा भएर पनि आफ्नो जमिन प्रयोग गर्न नपाएको गुनासो पीडितपक्षले गरिरहेका छन् ।

उनीहरुले जग्गा फिर्ता पाइने आशामा जग्गाधनी प्रमाणपत्र बोकेर वर्षौंदेखि सरकारलाई कुरेर बसिरहेका छन् ।

यता, २०० नम्बरको सीमास्तम्भ गायब हुँदा आनन्दबजार आसपासका क्षेत्रमा लामो समयदेखि विवाद भइरहेको छ ।

सीमा विवादकै क्रममा तीन वर्षअघि भारतीय सुरक्षाकर्मीको गोली लागेर गोविन्द गौतमको ज्यान गएको थियो ।

गौतमलाई गोली लागेको भूमिभन्दा झन्डै ५०० मिटर दक्षिणसम्म नेपाली भूमि रहेको स्थानीयको दाबी छ । तर, भारतीय पक्षले भने त्यसलाई अस्वीकार गर्दै आएको छ ।

सशस्त्र प्रहरीका कञ्चनपुर प्रमुख एसपी वीरसिंह साहु भने कञ्चनपुरका अधिकांश क्षेत्रमा सीमा विवाद रहेको र कतिपय क्षेत्रमा दुवैतर्फबाट अतिक्रमण भएको बताउँछन् ।

पछिल्लो समय सशस्त्रको उपस्थितिले भारतीय पक्षको ज्यादती कम भएपनि पुराना विवाद भने सल्टिएका छैनन् ।

भिडियो हेर्नुहोस्