Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


पुरानो बसपार्कमा १२ तलाको भ्यू टावर निर्माण धमाधम, गुणस्तरमा शंका


0
Shares

काठमाडौं । पुरानो बसपार्कमा १२ तलाको भ्यू टावर निर्माण भइरहेको छ । टावर निर्माणको सम्झौता गर्दा मापदण्ड अनुगमन समिति बनाउने भनिएको थियो । तर सम्झौताबमोजिम अहिलेसम्म समिति बन्न सकेको छैन ।

यसले गर्दा बन्न लागेको संरचनाको गुणस्तरमा प्रश्न उब्जिएको छ । देशमा निर्माण भएका तथा निर्माणाधीन भवनहरु मापदण्डअनुरुप नबन्दा उक्त संरचनाको आयु कति हुन्छ भन्ने प्रश्न उब्जिनु स्वभाविक हो ।

बलियो संरचना, दिगो टिकाउका लागि निर्माणाधीन ठूला संरचनाको अनुगमन जरुरी छ । तर काठमाडौंको पुरोनो बसपार्कमा साढे ३ वर्षदेखि निर्माणको क्रममा रहेको भ्यू टावरकै अहिलेसम्म मापदण्ड अनुगमन समिति बन्न सकेको छैन ।

२०७१ फागुनमा काठमाडौं महानगर र जलेश्वर, स्वच्छन्द र विकोई विल्डर्सबीच २९ तले टावर निर्माण गर्ने सम्झौता भएपनि २०७२ सालको भुकम्पपश्चात् कम्पनलिे १२ तलाको स्वकृति पाएको थियो ।

१२ तलाको नक्सा पास भएसँगै टावरको जगको काम धमाधम भइरहँदासमेत यस विषयमा टावरसँगै रहेको २८ नम्बर वडा कार्यालय नै अनविज्ञ छ ।

काठमाडौ महानगरपालिकालाई भ्यू टावर सम्झौताको विषयमा जानकारी माग्दै पत्र पठाएपनि अहिलेसम्म कुनै जवाफ नआएको वडाअध्यक्ष भाइराम खड्की (प्रकाश)ले जानकारी दिए ।

टावर बन्दा ढल र पानी लगायतका विषयमा समस्या हुने भन्दै स्थानीयबासीले टावर निर्माणामा अबरोध गरेका थिए तर अहिले निर्माणको काम धमाधम भइरहेको छ ।

यता, महानगरले भने टावरको स्वतन्त्र मापदण्ड अनुगमन समिति बन्न नसकेको स्वीकार्दै स्वतन्त्र कन्सलटेन्सी हायर गर्ने तयारीमा रहेको बताएको छ ।

निर्माण कम्पनीले ३० बर्ष  सञ्चालन गरेपछि महानगरलाई हस्तान्तरण गर्ने सम्झौता भएपनि मापदण्डअनुरुप बन्न नसके महानगरले भ्यू–टावरबाट भाडा उठाउने सपना अधुरो हुने छ ।