
काठमाडौं । विशेष कारण देखाउँदै त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगन गरेपछि नेपाली कांग्रेस निकट नेविसंघले आपत्ति जनाएको छ ।
त्रिवि कार्यकारी परिषद्को सोमबार बसेको बैठकले विशेष कारणवस अर्को निर्णय नभएसम्मका लागि स्ववियु निर्वाचन स्थगित गर्नुको पछाडी कम्युनिष्ट सरकारको षडयन्त्र भएको बताएको छ ।
नेविसंघका महामन्त्री दिपक भट्टराईले विश्वविद्यालयले स्ववियू निर्वाचनका सम्बन्धमा विद्यार्थी संगठनसंग कुनै छलफल नै नगरि निर्वाचन स्थागित गरेको बताएका छन् ।
उनले सरकार र त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनका अस्तित्व समाप्त पार्ने अभियानमा लागेको आरोप लगाए । भट्टराईले भने–‘नेपाली विद्यार्थी आन्दोलन एउटा ऐतिहाँसिक उपलब्धी स्ववियू स्थापनामा संघका अग्रजहरुको रगत र पसिना जोडिएकाले नेविसंघ युनियनको अस्तित्व जोगाउनका लागि जस्तोसुकै मूल्य चुकाउन तयार छ ।’
उनले भने –‘विश्वविद्यालयको नेतृत्वलाई स्ववियू निर्वाचन भए आफ्नो मनोपोली रोकिने डर र सरकारलाई युनियनको निर्वाचन हुँदा प्रजातान्त्रीक अभ्यास साथै प्रजातन्त्र र लोकतन्त्रको बलियो संस्था बन्ने डरले युनियनको निर्वाचन हठात रोक्न तयार भएका छन् । सरकार र त्रिभुवन विश्व विद्यालयको यो हर्कतका विरुद्धमा सम्पूर्ण लोकतन्त्रवादी विद्यार्थीहरुलाई गोलबन्द हुन समेत आग्रह गर्दछु ।’
नेविसंघका अर्का महामन्त्री युवराज पाण्डेयले स्ववियू निर्वाचनका सवालमा विश्वविद्यालय नै जिम्मेवार नभएको र निर्वाचन गराउन तदारुकता नदेखाएको आरोप लगाए । उनले भने, ‘विश्वविद्यालयले सर्वपक्षीय बैठक नै राखेन, क्याम्पसहरुको वातावरण नै बुझेन र अन्त्यमा हचुवाको तालमा कार्यतालिका सार्वजनिक गर्यो ।’
‘हामी निर्वाचनको तयारीमा मैदानमा थियौं तर संगठनहरु तयार भएनन भन्ने किसिमको सन्देश सार्वजनिक गराइयो, यो नै गलत भयो’ उनले भने, ‘हामी अझैं पनि परीक्षाहरु प्रभावित नहुनेगरी तत्कालै निर्वाचना गराउनुपर्छ भन्ने पक्षमा छौं र बृहत छलफलको तयारीमा छौं ।’
यता त्रिविका कार्यवाहक रेक्टर शिवलाल भुसाल विद्यार्थी सङ्गठनको सहमतिमै निर्वाचन स्थगित गरिएको दावी गरेका छन् ।
उनले भने, “चुनाव हुनुभन्दा एक महिना अगाडि निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने थियो, तर त्यो हामीले सकेनौँ, त्यसैले निर्वाचन स्थगित गरेका हौँ ।”
उनले विद्यार्थी सङ्गठनको छलफल र सहमतिमा छिट्टै निर्वाचन मिति तय गरिने जानकारी दिए । भुसालका अनुसार आगामी चैत अन्तिम साता निर्वाचन गर्नेगरी विद्यार्थी सङ्गठनसँग सहमति गरिनेछ ।
त्यसअगावै स्नातकोत्तर तहको दोस्रो र चौथो सेमेस्टरको परीक्षा सम्पन्न गर्ने त्रिविको तयारी छ । त्रिविको विद्यार्थी कल्याण तथा खेलकूद निर्देशनालयले सबै क्याम्पसलाई परिपत्र गर्दै तोकिएको मितिमा निर्वाचन नहुने स्पष्ट पारेको छ ।
त्रिविका आङ्गिक क्याम्पसमा यही फागुन १४ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकिएको थियो । प्रत्येक दुई(दुई वर्षमा हुने स्ववियु निर्वाचन विद्यार्थी सङ्गठनबीचको विवादका कारणले विगत १० वर्षदेखि नियमित हुन सकेको छैन ।
त्रिविमा विसं २०६५ यता क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन । तीन वर्षअघि विसं २०७३ मा भएको निर्वाचन २५० क्याम्पसमा मात्र भएको थियो ।
प्रतिक्रिया दिनुहोस्