Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


कांग्रेस भातृसंस्थाहरूको अस्तित्व संकटमा, एक दशकदेखि भएन महाधिवेशन


182
Shares

काठमाडौं । नेपाली कांग्रेस पार्टीको शक्तिका रूपमा चिनिने १३ भ्रातृसंगठन र २८ शुभेच्छुक संस्थाको लामो समयदेखि महाधिवेशन नहुँदा अस्तित्व संकटमा परेको छ ।

पार्टीको १४ औं महाधिवेशन सम्पन्न भएको २ महिना वित्दा पनि कोमाको अवस्थामा रहेका भ्रातृसंस्था बारे कांग्रेसले कुनै निर्णय गर्न सकेको छैन । कतिपय संगठनको अधिवेशन नभएको त दशकभन्दा बढी भइसक्यो ।

पार्टीलाई चलायमान र सशक्त बनाउने कांग्रेसका पाँच भ्रातृसंस्था नेतृत्वविहीन छन् । पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक ३ पटक बसे पनि भ्रातृ संस्थाको विषय एजेन्डा बन्न सकेन ।

अस्तित्व नै संकटमा पर्दासमेत माउ पार्टीले बेवास्ता गरेपछि कांग्रेसको नर्सरीको रूपमा रहेको भ्रातृसंगठन नेविसंघले अधिवेशन गर्न नेताहरूलाई दवाव दिन सुरु गरेको छ । पार्टी कार्यालय सानेपा पुगेर नेविसंघ आबद्ध विद्यार्थीले विधानसम्मत तदर्थ समिति गठन गरी अधिवेशन गर्न माग गरे ।

जवाफमा कांग्रेस उपाध्यक्ष धनराज गुरुङले यही साता बस्ने केन्द्रीय कार्यसम्पादन बैठकले भ्रातृ तथा शुभेच्छुक संस्था बारे निर्णय लिने आश्वासन दिनुभयो । तर, अहिले बस्ने बैठकमा पनि संगठन र संस्थाको विषयमा निर्णय हुनेमा भने विद्यार्थीले शंका गरेका छन् ।

भ्रातृसंगठनबाट दवाव आउन थालेपछि पार्टीमा बल्ल छलफल सुरु भएको छ ।

समयमै अधिवेशन हुन नसकेर वैधानिकता गुमाएका भ्रातृ तथा शुभेच्छुक संस्थाका सन्दर्भमा वर्तमान कार्यसमितिलाई नै महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने कि नयाँ कमिटी बनाउने भन्ने दुई विकल्पमा छलफल भइरहेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा बताउनुहुन्छ ।

लथालिङ्ग अवस्थाले भ्रातृसंस्थाको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ भने पार्टीमा देखिएको गुटको असरबाट भ्रातृसंस्थाहरू अधिवेशन नै गर्न नसक्ने अवस्थामा पुगेको नेताहरू नै स्वीकार गर्छन् ।