काठमाडौं, साउन २२ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्धलाई ठोस र व्यवस्थित ढंगले कार्यक्रममा आधारित बनाउनुपर्ने बताएका छन् ।
सिंहदरबारस्थित रक्षा मन्त्रालयमा अमेरिकी इन्डो–प्यासिफिक कमान्डका डेपुटी कमान्डर ब्रायन फेन्टनसँगको भेटमा रक्षामन्त्री पोखरेलले नेपाली सेनाको तालिम र कुशलता अभिवृद्धिका लागि अमेरिकी सहयोग महत्वपूर्ण हुने बताए ।
सो अवसरमा डेपुटी कमान्डर फेन्टनले नेपाल र अमेरिकाबीच ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (राज्य साझेदारी कार्यक्रम) सन्चालन गर्ने नीतिबारे नेपाललाई पहिलो प्राथमिकता दिइएको बताए ।
नेपाली सेना र अमेरिकी सेनाले हाल सन्चालन गरिरहेको संयुक्त तालिम अत्यन्त प्रभावकारी छ भन्दै उनले विश्वशान्ति स्थापनाका लागि नेपाली सेनाको अद्वितीय योगदान रहेको बताए ।
डेपुटी कमान्डर फेन्टनले विगतदेखि सैन्य क्षेत्रमा अमेरिकाले पुर्याउँदै आएको सहायतालाई निरन्तरता दिइने बताउँदै भने–‘नेपालको लोकतन्त्रको विकासमा अमेरिका सदैव सहयात्रा गर्न तयार छ ।’
सो अवसरमा रक्षा मन्त्रालयका सहसचिव ऋषिराज भण्डारी, अमेरिकी दूतावासका उच्च अधिकारीका साथै परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सहभागिता थियो । रासस





प्रतिक्रिया दिनुहोस्