Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


बिदाइदेखि विरोधसम्म, महरा डिल्लीबजार कारागारबाट रिहा हुँदा जे देखियो… (भिडियो)


0
Shares

गृष्मा राजभण्डारी र सुयेश मानन्धर (इमेज)

काठमाडौं, फागुन ५ । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि जबर्जस्ती करणी उद्योग मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ ।

अदालतबाट सफाइ पाएलगत्तै पूर्वसभामुख महरा डिल्लीबजार कारागारबाट रिहा भएका छन् ।

कारागारबाट रिहा हुनुअघि महरालाई पूर्व‘आइजीपी’ रमेशचन्द ठकुरी र सशस्त्र प्रहरीका पूर्व‘डीआइजी’ रञ्जन कोइरालाले खादा र माला लगाएर बिदाइ गरेका थिए ।

दुई महिनाअघि उच्च अदालत पाटनले पूर्वसभामुख महरालाई थुनामुक्त गर्न अस्वीकार गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले महरालाई मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म पुर्पक्षका निम्ति थुनामा राख्न दिएको आदेश उच्च अदालतले सदर गरेपछि महरा कहिलेसम्म कारागारमा रहन्छन् भन्ने प्रश्न उठेको थियो ।

तर, लामो बहसपछि न्यायाधीश अम्बरराज पौडेलको इजालसले सोमबार महरालाई सफाइ दियो ।

अदालतको फैसला डिल्लीबजार कारागार पुग्नासाथ महरा सामान्य ढाकाटोपी र कोटमा सजिएर कारागारबाट बाहिर निस्कँदा महराका समर्थक र केही विरोधीको भीड जम्मा भइसकेको थियो ।

महराले कारागारबाट बाहिर निस्कँदै गर्दा इमेज च्यानललाई प्रतिक्रिया दिँदै कारागारमा पारिवारिक वातावरण पाएको र अदालतको फैसलाको सम्मान गरेको बताए ।

प्रतिक्रियापछि आफ्नै छोराले चलाएको गाडीमा बसेका महराले सबैलाई हात हल्लाएर सम्बोधन गरेका थिए ।

रातो रङको त्यही गाडी, जुन महरालाई प्रहरीले पहरा दिइ कारागार लग्दा पछुवाको रुपमा रहन्थ्यो ।

कारागारमुक्त भएपछि घाँटीमा माला र खादासहित महराले सोही गाडी प्रयोग गरे ।

महरा कारागारबाट निस्कँदा समर्थक र सञ्चारकर्मीहरुको भीड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे–हम्मे परेको थियो ।

त्यतिमात्र होइन, महरा रिहा हुँदा समर्थकहरुले डिल्लीबजार कारागारबाहिर अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनको विपक्षमा नाराबाजीसमेत गरेका थिए भने केहीले महराको रिहाइको विरोधसमेत गरेका थिए ।

भिडियो हेर्नुहोस्