Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


सात महिनामा सुदूरपश्चिम प्रदेश सरकारको खर्च १३ प्रतिशतमात्र


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, फागुन ५ । चालू आर्थिक वर्षको सात महिना बितिसक्दा सुदूरपश्चिम प्रदेशमा बजेट खर्च १३ प्रतिशतमात्र भएको छ ।

तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सरकारले खर्च बढी देखाउनकै लागि विभिन्न बहानामा रकमको दुरुपयोग गरेको आरोप लगाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको सात महिनामा कुल बजेटमा १३.३४ र चालूतर्फ १२.२९ प्रतिशत खर्च गरेको छ ।

तर, प्रदेश सरकारले भने खटाएको ठाउँमा कर्मचारी नजाँदा र भौतिक प्रगति भएपनि भुक्तानी नहुँदा बजेट खर्च कम भएको जनाएको छ ।

गत आर्थिक वर्षको यो अवधिसम्म प्रदेश सरकारले जम्मा ६ प्रतिशतमात्रै बजेट खर्च गरेको थियो ।

बजेट कार्यान्वयन निराशाजनक भएपनि प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोरा भने तुलनात्मकरुपमा बजेट खर्चमा प्रगति भएको बताउँछन् ।

अर्कोतिर सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सरकारले चालू आर्थिक वर्षमा खर्च बढी देखाउन कार्यकर्तालाई बजेट विनियोजन गरेको गम्भीर आरोप लगाएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता रणबहादुर रावल खर्च बढी देखाउनका लागि सरकारले विभिन्न योजनाका नाममा कार्यकर्तालाई बजेट वितरण गरेको आरोप लगाए ।

प्रदेश सरकारका मन्त्रीहरु जनतालाई विकासको अनुभूति दिनुको साटो भ्रष्टाचारमा लिप्त भएको उनको भनाइ छ ।

नागरिकका अपेक्षाका तुलनामा सरकारको कार्यशैली ढिलासुस्ती र प्रभावकारी नभएको आलोचना भइरहेको छ ।

बजेटमा उल्लेखित योजना कार्यान्वयनमा ढिलाइ हुँदा आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्ने होडबाजी यो वर्ष पनि नदोहोरिएला भन्न सकिन्न ।

भिडियो हेर्नुहोस्