Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


नेपाल-भारत सीमा क्षेत्रमा थप सुरक्षा पोष्ट राखिने


0
Shares

इलाम । इलामस्थित नेपाल–भारत सीमा क्षेत्रमा नेपालको तर्फबाट सुरक्षा पोस्ट राख्ने तयारीले तीब्रता पाएको छ ।

अपराध, तस्करी नियन्त्रण र सिमानाको सुरक्षा गर्ने उद्देश्यले स्थापना गर्न लागिएका ६ वटा सुरक्षा पोष्टमध्ये पहिलो चरणमा चारवटा स्थापना गरिने छन् ।

नेपाल–भारतको ५२ दशमलव ५ किलोमिटर क्षेत्रमा ७ किलोमिटरको फरकमा सशस्त्र प्रहरीका ६ वटा सुरक्षा पोष्ट राख्ने तयारी गरिएको छ ।

झापाको सीमावर्ती क्षेत्र सलकपुरदेखि पाँचथरको प्राङ्बुङ्गसम्मको क्षेत्रमा थप ६ वटा सीमा सुरक्षा पोस्ट राखिने छ ।

सीमा सुरक्षा पोष्टलाई आवश्यक पर्ने जग्गा व्यवस्थापनको काम स्थानीय तहहरुले खोजी गरी हस्तान्तरणको प्रक्रियामा रहेको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले जानकारी दिए ।

सुरक्षा पोस्ट स्थापना हुँदा जनताले सुरक्षाको अनुभूति गर्न पाउनुका साथै देशको स्वाधिनताका लागि कोसेढुङ्गा सावित हुने नगरपालिका प्रमुख राईले औंल्याए ।

सरकारले सन्दकपुर गाउँपालिकास्थित कालपोखरी, जौबारी, सूर्योदय नगरपालिकाको मानेभञ्ज्याङ्ग, छब्बिसे, समाल्बुङ्ग र रोङ गाउँपालिकाको सलकपुरमा सिमा सुरक्षा पोस्ट राख्ने निर्णय गरेको थियो ।

सूर्योदय नगरपालिकाको पशुपतिनगरमा यसअघि नै सुरक्षा पोस्ट राखिएको छ ।