
काठमाडौं । राष्ट्रिय सभा सदस्य १९ पदका लागि आज निर्वाचन हुँदै छ । १९ सिटका लागि हुने निर्वाचनमा ९ दलका ४३ उम्मेदवार मैदानमा रहेका छन् ।
निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । शान्ति–सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताउनु भयो ।
विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा आज बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदान सकिएलगत्तै मतगणना गर्ने आयोगको तयारी छ । प्रवक्ता पौडेलले आज नै मतपरिणाम आउने अपेक्षा गरिएको बताउनु भएको छ ।
कोरोना संक्रमणलाई ख्याल गरेर आयोगले स्वास्थ्य सुरक्षाका मापदण्डसहित मतदानको व्यवस्था समेत मिलाएको छ ।
निर्वाचनको मौन अवधि सुरु भइसकेकाले प्रचारप्रसार रोकिएको छ भने निर्वाचनमा खटिने सुरक्षाकर्मी, निर्वाचन कर्मचारी र स्वास्थ्यकर्मी सहितको टोलीको व्यवस्थापन भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्