Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


नेकपाले ‘जनयुद्ध’ दिवस मनाउने, अध्यक्षद्वय ओली र दाहालले सम्बोधन गर्ने


0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले आज(बिहीबार) ‘जनयुद्ध’ दिवस मनाउने भएको छ ।

नेकपाले जनयुद्ध दिवस पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मनाउने भएको छ ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

बिहान ९ वजे हुने कार्यक्रममा दुबै अध्यक्षले सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ ।

तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेदेखि राज्यसत्ताविरुद्ध थालेको संघर्षको सम्झनामा नेकपाले जनयुद्ध दिवस मनाउन लागेको हो ।

कुनै बेला जनयुद्ध शब्दसमेत सुन्न नचाहने प्रधानमन्त्री केपी शर्मा ओली यसपटकको दिवसमा सहभागी भइ सम्बोधन गर्ने कार्यक्रम छ ।

यसले पूर्व माओवादी र पूर्व एमालेबीच भावनात्मक रुपमा नै एकता भएको सन्देश दिने विश्वास गरिएको छ ।

२५ औँ जनयुद्ध दिवसका विषयमा छलफल गर्न मंगलबार विहान दुइ अध्यक्षबीच भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री  ओली अघिल्लो वर्षको दिवसमा सहभागि हुनुभएको थिएन । पार्टी एकता भएपछिको पहिलो दिवसमा ओली सहभागि हुने भनिए पनि गएनन् ।

‘माओवादी जनयुद्ध’ नाम दिएको सशस्त्र आन्दोलन २०६३ विसर्जन भएको थियो । त्यसपछि भएका धेरै राजनीतिक परिवर्तनको केन्द्रभागमा तत्कालिन नेकपा माओवादी रहँदै आएको थियो ।

जनयुद्ध गर्ने तत्कालिन माओवादीका मुख्य नेताहरु दाहाल, मोहन वैद्य, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द लगायतका नेताहरु भने एतिबेला अलग–अलग कित्तामा उभिएका छन् 

एक पटक हतियार उठाए पछि जनताको मुक्ति नभएसम्म बिसाइने छैन भन्ने घोषणा गरेर २०५२ साल फागुन १ गते जनयुद्धको शुरूवात गरिएको थियो ।

रोल्पाको होलेरी, रुकुमको राडी र सिन्धुलिगडि प्रहरी चौकीमा भरुवा बन्दुकका भरमा आक्रमण गरेर शुरु भएको एक दशकसम्म चलेको जनयुद्धले नेपाली राजनीतिमा ठूलो परिवर्तन ल्याएपनि यसको औचित्यमाथि बहस टुंगिएको छैन ।