Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


अन्य ठूला भ्रष्टाचार मुद्दामा पनि अनुसन्धान थाल्नुपर्ने आवाज


13
Shares

मीरा बस्नेत र राजेन्द्र नापित (इमेज)

काठमाडौं, माघ २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा मुद्दा दर्ता गरेपछि वर्षाैंदेखि अड्किएर रहेका अन्य ठूल्ठूला भ्रष्टाचार मुद्दामा पनि अनुसन्धान थाल्नुपर्ने आवाजहरु उठ्न थालेका छन् ।

मुद्दा दर्ता गर्नेक्रममा भएको त्रुटिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको औचित्यमाथि नै प्रश्न उठाएपनि बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा उसले सफलता पाएको छ ।

यस्तै सफलता अन्य केही चर्चित मुद्दामा पनि अख्तियारले पाएको छ ।

सिक्टा सिँचाइ आयोजनामा पूर्वमन्त्री विक्रम पाण्डेविरुद्धको मुद्दा तथा काठमाडौं फनपार्क भाडा अनियमितता र नेपाल आयल निगमको जग्गाकाण्डमा गोपालबहादुर खड्काविरुद्धको मुद्दा पनि अख्तियारको सफलता हो ।

एनसेललाई लाभकर छुट सम्बन्धमा चूडामणि शर्माविरुद्धको मुद्दा पनि अख्तियारको अर्को सफलता हो ।

तर, अन्य केही यस्ता चर्चित मुद्दा छन्, जसमा अख्तियारले प्रभावकारी छानबिन गर्न सकेको छैन ।

‘वाइडबडी’ खरिद प्रकरण, ‘न्यारोबडी’मा भएको भनिएको घुस लेनदेन, अख्तियारकै आयुक्त राजनारायण पाठकविरुद्धको घटनालगायतमा अख्तियारले प्रभावकारीरुपमा काम गर्न सकेको छैन ।

त्यसैले अहिले ललिता निवास जग्गा प्रकरणमा मुद्दा दर्ता भएपछि वर्षौंदेखि अड्किएर रहेका अन्य ठूला–ठूला भ्रष्टाचार मुद्दामा पनि अनुसन्धान थाल्नुपर्ने आवाजहरु उठ्न थालेको छ ।

ललिता निवास प्रकरणमा मुद्दा नचलाइएका तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्वीटरमार्फत् आफ्नो सफाइ पेस गरेका छन् भने भ्रष्टाचारका अन्य मुद्दामा पनि छानबिन गर्नुपर्ने सुझाव दिएका छन् । 

भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएका अभियन्ता केदार खड्का अन्य ठूला भ्रष्टाचारका मुद्दामा पनि अख्तियारले छानबिन गर्नेमा आशावादी छन् ।

तर, नीतिगत निर्णय गराउन मन्त्रिपरिषद्मा लैजाने र नीतिगत निर्णयको स्पष्ट परिभाषाबिना अख्तियारले पनि उन्मुक्ति दिने गरेकाले ठूला–ठूला काण्डमा छानबिन गर्न गाह्रो भइरहेको खड्काको भनाइ छ ।

अख्तियारले आफूलाई आरोपबाट मुक्त राख्ने हो भने संविधान र कानुनले दिएको अधिकारको पूर्ण प्रयोग गर्दै निष्पक्षरुपमा काम गर्न सक्नुपर्दछ ।

भिडियो हेर्नुहोस्