
काठमाडौं । नेपालमा बसेर कानुनविपरीत गतिविधि गर्ने विदेशीमा चिनियाँ, अमेरिकी र बेलायती अग्रस्थान छन् । अध्यागमन विभागले सन् २०२१ मा गरेको कारबाहीमा एकतिहाइ तीन देशका नागरिक छन् ।
विभागका अनुसार २०२१ मा २७ जना चिनियाँ, १९ जना अमेरिकी र १५ जना बेलायती नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ । त्यसमध्ये केही फौजदारी अपराधमा पक्राउ परेका र केही पाँच महिनाभन्दा लामो समय अवैध रूपमा बसेका भएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए ।
एक सय २५ जना भिसा अवधिभन्दा लामो समय बसेको र अन्य ६५ जना विभिन्न किसिमका अन्य अपराधमा संलग्न रहेको विभागले जनाएको छ । निष्कासन गर्दा उनीहरूलाई जरिवाना गरी अपराधको गम्भीरता हेरेर १० वर्षसम्म नेपाल आउन रोक लगाइन्छ ।
एक वर्षको अवधिमा विभागले ५७ देशका एक सय ९० जना विदेशीलाई निष्कासन गरेको छ । निष्कासित हुने विदेशीमा चीन, अमेरिका र बेलायतपछि दक्षिण कोरिया, फ्रान्स, जर्मनी, पाकिस्तान र रसियाका नागरिक छन् ।
दक्षिण कोरियाका ११, फ्रान्स, जर्मनी र पाकिस्तानका १०–१० तथा रसियाका आठजनालाई विभागले निष्कासन गरेको हो । त्यस्तै, जापान, अफगानिस्तान, श्रीलंकाका पाँच–पाँच, इटाली, अस्ट्रेलिया, क्यानडाका चार–चारजना निष्कासनमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्