
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । दिउँसो दुई बजेका लागि बोलाइएको बैठकमा महाधिवेसन तयारीका विषयमा छलफल हुन लागेको हो ।
बैठकमा नियमावली संसोधन र विधान परिमार्जनका विषयमा पनि छलफल हुने बताइएको छ । काँग्रेसले महाधिवेसन तयारीका लागि जिल्ला अधिवेसन गराउन विधान परिमार्जन गर्न लागेको हो ।
यस्तै बैठकमा ललिता निवास जग्गा प्रकरणमा उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको भन्दै अवरुद्ध संसद खुलाउने विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।
एउटै विषयमा नीतिगत निर्णय गर्दा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाईसमेत छानविनको दायरामा ल्याउन काँग्रेसले माग गर्दै आएको छ ।
यसैबीच उपसभापति गच्छदारको मुद्दा अदालतमा गइसकेकाले संसद अवरुद्ध गर्न नहुने भन्दै पार्टीभित्र विरोध हुन थालेको छ ।
दोस्रो तहका नेताहरुले अदालत प्रवेश गरेको विषयमा पार्टीले विरोध गर्न नहुने भन्दै सदनको अवरोध खुलाउन नेतृत्वलाई दबाब दिन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्