५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


चीनमा रहेका नेपालीको उद्धार गर्न आयोगको आग्रह


0
Shares

काठमाडौं, माघ २६ । राष्ट्रिय मानवअधिकार आयोगले मित्रराष्ट्र चीनको हुबेई प्रान्तमा रहेका नेपालीको जीवन जोखिममा पर्नसक्ने भएकाले स्वदेश फर्काउन सरकारसँग आग्रह गरेको छ ।

आयोगमा आइतबार बसेको आकस्मिक बैठकले उक्त प्रान्तमा भएका नेपालीको संवेदनशीलतालाई बुझी सुरक्षितरूपमा स्वदेश फर्कने वातावरण मिलाउन सरकारसँग आग्रह गरिएको हो ।

बैठकले सरकारलाई आफ्ना नागरिकहरूलाई शीघ्र सुरक्षितरूपमा स्वदेश फर्कने वातावरण मिलाउन निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले जानकारी दिए ।

उनकाअनुसार उक्त प्रान्तका सबै नेपालीको स्वास्थ्य अवस्थाको जानकारी र स्वदेश फिर्ता गर्ने सम्बन्धमा सरकारका सम्बन्धित मन्त्रालयले गरेको काम–कारवाहीका सन्दर्भमा आवश्यक जानकारी लिन परराष्ट्र, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवहरूलाई आयोगमा बोलाउने निर्णय गरेको छ ।

चीनमा रहेका नेपाली विद्यार्थी तथा अन्य नेपाली नागरिक ‘नोबेल कोरोनाभाइरस’का कारण आफू बसेको निवासबाट बाहिर निस्कन सक्ने अवस्था नभएको, लामो समयसम्म निवासमा बन्दीजस्तै जीवन बिताउँदा खाद्य सामग्रीकोसमेत अभाव भएको, जति लामो समय चीनमा रह्यो, त्यति नै उनीहरू संक्रमणको जोखिममा रहेको बताइएको छ ।

दुई हप्तादेखि चीनको सो प्रान्तमा रहेका करिब १८५ जना नेपाली विद्यार्थी तथा अन्य नेपाली नागरिकमा नोबेल कोरोनाभाइरसको संक्रमण हुने सन्त्रास भइरहेको र उनीहरूको शीघ्र जीवनरक्षा गरिदिन माग गर्दै अभिभावकहरूले आयोगसमक्ष पेस गरिएको ज्ञापनपत्र एवं नेपाली नागरिकको जीवनरक्षाका सम्बन्धमा आयोगले सो निर्णय गरेको हो । रासस