
सिवी अधिकारी (रासस)
काठमाडौं, साउन २१ । मनसुन न्यूनचापीय प्रणालीको प्रभावले देशैभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको छ ।
मनसुन न्यूनचापीय रेखा नेपालनजिक (खासगरी मध्य र पश्चिम क्षेत्र) भएकाले काठमाडौं उपत्यकासहित देशभर बदली र वर्षा भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।
उनकाअनुसार सोमबार राति काठमाडौंसहित मध्य र पश्चिमका एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।
बुधबारदेखि मौसममा क्रमिक सुधार आउनेछ ।
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै दिउँसो र राति देशभर सामान्यदेखि पूर्णबदली रही धेरै स्थानमा वर्षा हुने तथा पश्चिमी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको छ ।
मंगलबार (भोलि) दिउँसो र राति देशभर सामान्यदेखि पूर्णबदली रही देशका मध्य र पश्चिमका धेरै स्थानमा र पूर्वका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।
राति पश्चिम तथा मध्यका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
सोमबार काठमाडौं उपत्यकासहित देशैभर बदली र वर्षा भएको छ । महाशाखाको विवरणअनुसार सोमबार काठमाडौंमा ४४ मिलिमिटर वर्षा भएको छ ।
सबैभन्दा धेरै नेपालगन्जमा ६४, ओखलढुंगामा ५६ र वीरेन्द्रनगरमा ४६ मिलिमिटर वर्षा भएको छ ।
त्यस्तै, सिमरामा ३६, पोखरामा २६, दाङमा २५ र विराटनगरमा १९ मिलिमिटर वर्षा भएको छ ।
लगातारको वर्षाका कारण सोमबार काठमाडौं र ललितपुरका लुभू, गोदावरी खोलालगायत केही स्थानमा डुबान तथा बागमती, विष्णुमती, इच्छुमती, मनोहरा र हनुमन्तेमा पानीको बहाव बढेको छ ।
देशभर मध्यम वर्षा
मनसुन न्यूनचापीय रेखा नेपालतर्फ रहेकाले विगत तीन दिनदेखि निरन्तर वर्षा भइरहेको छ ।
मौसमविद् अर्यालको भनाइमा मौसमी मापदन्डअनुसार उच्च पहाडी र हिमाली भेगबाहेक ५० मिलिमिटरसम्म वर्षा भएमा त्यसलाई मध्यम र ५० भन्दामाथि गएमा भारी वर्षा मानिन्छ ।
१०० मिलिमिटरभन्दामाथि भएमा अत्यधिक वर्षा मानिन्छ । अहिले सरदर देशभर मध्यम खालको र मध्य र पश्चिमका एक/दुई स्थानमा भारी वर्षा भएको छ ।
काठमाडौंमा भएको वर्षा पनि भारी वर्षाकै हाराहारीमा हो ।
प्रमुख नदी तथा चुरे र पहाडबाट बहने नदीहरुमा बाढीको सम्भावना
लगातारको वर्षाका कारण देशका प्रमुख नदी तथा चुरे र पहाडबाट बहने नदीहरुमा बाढीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, जलविज्ञान महाशाखा/बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
शाखाले सोमबार तीन दिनसम्मको बाढी बुलेटिन निकालेर कमला, बागमती, कन्काईलगायतका नदीमा बहाब सतर्कता तह आसपास पुग्ने पूर्वानुमान भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।
दाङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत, झापा, मोरङ, सिन्धुलीलगायत जिल्लाको चुरे र पहाडबाट बहने नदीहरुमा आकस्मिक बाढीको सम्भावना भएकाले सर्तक रहन आग्रह गरिएको छ ।
साथै, बबईलगायत नदीमा बहाव उच्च रहेकाले थप बढ्ने खतरा छ ।
पहिरोग्रस्त क्षेत्रमा सतर्क अपनाउन भनिएको छ ।
देशैभर पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना भएकाले साना खोलामासमेत बहाव एक्कासि बढ्नसक्ने भएकाले सतर्क रहन शाखाले आग्रह गरेको छ ।
मंगलबार देशका प्रायः प्रमुख नदीहरुमा पानीको सतह घट्दोक्रममा हुने भएपनि बहाव उच्च नै हुने हुँदा सतर्कता अपनाउन भनिएको छ ।
बुधबारबाट प्रायः नदीहरुमा बहाव सामान्य हुने शाखाको पूर्वानुमान छ ।
प्रतिक्रिया दिनुहोस्