Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


कालीगढ अभावमा लोप हुँदैं धनकुटाका कलात्मक झिंगटी घर


0
Shares

-कविराज घिमिरे /ईमेज 

धनकुटा । धनकुटामा रहेका आकर्षक र कलात्मक झिंगटी घरहरु पछिल्लो समय लोप हुन थालेका छन् । आधुनिक घरहरुको निर्माण गर्ने चलन भित्रिएसँगै परम्परागत कलाकृतियुक्त घर हराउन थालेका हुन् ।

धनकुटाको धनकुटा नगरपालिका वडा नम्बर ६ सिरान बजारका विजयशेखर श्रेष्ठले आफ्नो घरको झिंगटीको छानो परिवर्तन गरी नयाँ युपीभिसीको छानो लगाउन बाध्य भए ।

पुरानो शैलीको झिंगटीको छानो परिवर्तन गरी नयाँ र आधुनिक युपीभिसीको छानो लगाउँदा उनको मन भने खुसी थिएन । किनकी पुरानो शैलीको छानोसँगै पिता पुर्खाले निर्माण गरेका कलाकृति पनि गुम्दै थिए ।

उनले झिँगटी घरको काम गर्ने कालीगढको धेरै खोजी समेत गरे तर नभेटाएपछि उनी पुरानो शैली परिवर्तन गर्न बाध्य भए । कारीगढको अभावसँगै झिंगटी पनि नपाइने भएकाले बाध्य भएर यसलाई हटाउनु परेको उनको गुनासो छ ।

पछिल्लो समय धनकुटाबाट झिंगटी घरहरु क्रमशः हराउन थालेका छन् । योसँगै कलाको स्वर्णयुग मानिने लिच्छविकालीन कैयौं कलाकृति समेत लोप हुने अवस्थामा पुगेका छन् ।

आजभन्दा करिब चार सय वर्ष अघिबाट बस्ती बसेको धनकुटामा तत्कालीन सौखिन व्यक्तिले कारीगढ झिकाई यस्ता घरहरु निर्माण गर्न सुरु गरेका थिए । तर पछिल्लो ५० वर्षदेखि यस्ता घरहरु मासिने क्रम सुरु भएको हो ।

झिंगटीका घरहरु तत्कालीन समयमा उत्कृष्टताको मानक हुने गरेको मुर्तिकार श्रीकृष्ण जोशीको भनाइ छ । माटो, झिंगटी तथा काठपात प्रयोग गरी निर्माण गरिने पुरानो शैलीको घर अहिले धनकुटामा दुर्लभ भइसकेका छन् ।

आधुनिकताको नाममा भित्रिने नयाँपनले हाम्रो प्राचीन कला संस्कृति त ध्वस्त बनाउँदै छैन ? सोच्नुपर्ने समय आएको छ ।