
काठमाडौं, माघ २५ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ ।
शनिबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो खेलमा शेर्पाले च्यासललाई ३–२ ले हराएको हो ।
हिमालयन शेर्पाको जितमा विजय गुरुङले दुई तथा त्रिदेव गुरुङले एक गोल गरे । च्यासलका हायातु वाकिनोले दुई गोल फर्काए ।
शीर्ष ६ मा स्थान बनाउन संघर्षरत् च्यासलमाथि जित निकाल्दै शेर्पा क्लब दुई खेलअगावै ‘रेलिगेसन’बाट जोगिएको छ ।
जितसँगै शेर्पा ११ खेलबाट १० अंक जोड्दै लिग तालिकाको ११औं स्थानमा उक्लिएको छ । च्यासल १२ अंकसहित तालिकाको दशौं स्थानमा यथावत् छ ।
जावलाखेलले फ्रेन्ड्सलाई हरायो
शनिबारै भएको दोस्रो खेलमा जावलाखेल युथ क्लबले फ्रेन्ड्स क्लबलाई १–० ले हराएको छ ।
एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा १० खेलाडीमा झरेको फ्रेन्ड्सलाई १–० ले हराउँदै जावलाखेल पाँचौं स्थानमा उक्लिएको हो ।
पहिलो हाफ गोलरहित बनेको खेलको ५८औं मिनेटमा फोडे फोफोनाले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए ।
त्यसको चार मिनेटपछि फ्रेन्ड्सका साउलो डी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए ।
खेलको आधा घन्टा १० खेलाडीमा झरेको फ्रेन्ड्सले जावलाखेलविरुद्ध गोल गर्न सकेन र पराजित हुन पुग्यो ।
जितसँगै जावलाखेल एघार खेलबाट १८ अंक बनाउँदै पाँचौं स्थानमा उक्लिएको छ । पराजयसँगै फ्रेन्ड्स १२औं स्थानमा यथावत् छ । उसले एघार खेलबाट १४ अंक बनाएको छ ।
खेल स्थगित
यसैबीच, शनिबारै हुने भनिएको मनाङ–मर्स्याङ्दी र न्यूरोड टिम (एनआरटी)बीचको खेल स्थगित भएको छ ।
एपीएफको हलचोक मैदानमा हुने भनिएको खेल अखिल नेपाल फुटबल संघ (एन्फा)ले स्थगन भएको जनाएको हो । यो खेल आइतबार दिउँसो १ बजे सातदोबाटोमै हुनेछ ।
गत संस्करणको उपाधि विजेता मनाङ यो संस्करणमा अहिले चौथो स्थानमा छ भने एनआरटी आठौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्