दमौली, माघ २५ । पृथ्वी राजमार्गअन्तर्गत् तनहुँको बन्दीपुर गाउँपालिका–१, रिमाल्नीमा शनिबार बिहान भएको सवारी दुर्घटनामा १९ यात्री घाइते भएका छन् ।
दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना७ख ६२६८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना७ख ४४२४ नम्बरको बस एकापसमा ठक्कर खाँदा बसचालकसहित १९ यात्री घाइते भएका हुन् ।
दुर्घटनामा घाइते बसचालक चितवन जिल्ला भरतपुर महानगरपालिका–२७ का ४२ वर्षीय किरण काफ्लेसहित १९ यात्रीको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
बसचालक काफ्लेको हात, खुट्टा र गालामा चोट लागेको छ । ट्रक र त्यसका चालक प्रहरीको नियन्त्रणमा छन् ।
कार दुर्घटनामा ६ जना घाइते
यसैगरी, पृथ्वी राजमार्गअन्तर्गत् व्यास नगरपालिका–१२, घाँसीकुवामा शुक्रबार राति भएको कार दुर्घटनामा ६ जना घाइते भएका छन् ।
कावासोतीबाट पोखरातर्फ आउँदै गरेको बा१३च ८४८१ नम्बरको कार अनियन्त्रित भइ सडकबाट पल्टँदा ६ जना घाइते भएका हुन् ।
घाइते सबैको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारपश्चात् ‘डिस्चार्ज’ भएको प्रहरीले जनाएको छ । रासस









प्रतिक्रिया दिनुहोस्