सर्लाही । तपस्वी रामबहादुर वम्जनलाई खोज्न प्रहरी सक्रिय भएको छ ।
यसैक्रममा सर्लाहीको प्रहरी टोली शुक्रबार दिउँसो चुरेभेगस्थित लालबन्दी नगरपालिका–१२, पत्थरकोटमा रहेको आश्रममा पुगेको थियो ।
बम्जनमाथि आनी र अनुयायीलाई बेपत्ता पारेको तथा बलात्कार गरेकोसमेत आरोप छ ।
मकवानपुरकी फूलमाया रुम्बा, नुवाकोटकी कर्मा भनेर चिनिने चिनिमाया तामाङ, मकवानपुरका सञ्चलाल बाइबा र बाराका सुरेशकुमार आले मगर बेपत्ता भएको भनेर उजुरी परेको थियो ।
उनीहरुको हत्या भएको आशंका गरिए पनि प्रहरीले प्रमाण भेट्टाउन सकेको छैन । अदालतले बम्जनलाई पक्राउ गर्न प्रहरीलाई विहीबार अनुमति दिएको थियो ।
आनी एवं अनुयायीहरु बेपत्ता पारेको चर्चा भएपछि जिल्लाका सुरक्षा अधिकारीहरु यसअघि पनि पटक–पटक पत्थरकोटस्थित आश्रममा पुगेर निरीक्षण गर्दा बम्जन भेटिएका थिएनन् ।
बम्जनको आश्रमका अनुयायीहरुले उनको अवस्था बारे नबताउने गरेको प्रहरीले जनाएको छ ।
यसैबीच केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि यस प्रकरणमा अनुसन्धान जारी रहेको बताएको छ भने प्रहरी प्रधान कार्यालयले ७७ जिल्लाकै प्रहरी कार्यालयलाई बम्जनको खोजी गर्न सर्कुलर जारी गरेको छ ।
प्रहरीले सर्लाही, मकवानपुर, सिन्धुपाल्चोक, लमजुङ, मकवानपुर लगायतका क्षेत्रका रहेका आश्रममा पनि निगरानी बढाएको बताइएको छ ।
हिजो सिन्धुलीको कमलामाई नगरपालिपालिका ८ पहिरेमा रहेको बम्जनको आश्रममा पनि प्रहरीले उनको खोजी गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्