काठमाडौं, साउन २१ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकार गरेको विषयलाई लिएर प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकको सुरुमा समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले संसदीय सुनुवाइ विशेष समितिले बिनाकारण जोशीलाई अस्वीकृत गरिएको भन्दै आपत्ति जनाए ।
सांसद कार्कीले स्वतन्त्र न्यायपालिकामाथि प्रहार भएको भन्दै संसदीय सुनुवाइ समितिको निर्णय अवैध भएको दाबी गरे ।
लगत्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले नियमापत्ति गरे ।
अधिकारीले संविधानको धारा १०३ मा संसद र समितिको कारबाहीबारे उल्लेख गरिएको भन्दै कार्कीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे ।
त्यसपछि कांग्रेसका सांसदहरु आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका थिए ।
कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले न्यायपालिकाको स्वतन्त्रताको पक्षमा आवाज उठाउँदा नियमापत्ति गरिएको भन्दै आक्रोश पोखिन् ।
दीपकराज जोशी अस्वीकृतिको विषयमा सत्ता र प्रतिपक्षी बहसमा उत्रिएपछि सभामुख कृष्णबहादुर महराले सुनुवाइ समितिको प्रतिवेदन पेस भएपछि छलफल गर्ने आश्वासन दिएर अरु कारबाही अगाडि बढाएका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक यही साउन २७ गते बस्नेछ ।









प्रतिक्रिया दिनुहोस्