सरोज अधिकारी र उत्तम मानन्धर (इमेज)
काठमाडौं, माघ २२ । नेपाली कांग्रेसभित्रको आन्तरिक द्वन्द्व व्यवस्थापन भएपनि एकले अर्कालाई अझैपनि शंकाको दृष्टिले हेरिरहेका छन् ।
सतहमै द्वन्द्व देखिँदा पार्टीलाई अहित पुगेको निष्कर्षसहित दुवै पक्ष अब विधिबाटै सामाधान खोज्ने र महाधिवेशनका प्रक्रियालाई संगठन सुदृढीकरण अभियानका रुपमा लैजान तयार बनेका छन् ।
लामो समयदेखिको विवाद कांग्रेसका शीर्ष नेताहरुले तत्कालका लागि टुंग्याएका छन् ।
सोही सहमतिअनुसार भातृसंस्था नेपाल विद्यार्थी संघले नयाँ तदर्थ समिति पाएको छ ।
तर, नेविसंघको समिति बनाउँदा नेताहरुले आफुखुसी गरेको भन्दै गुटभित्रै पनि अहिले असन्तुष्टि छ ।
प्रमुख गुटहरुबीच महाधिवेशनसम्म पुग्नका लागि सहमति बने पनि एक–अर्काप्रतिको आशंका भने अझै कायम नै छ ।
सहमहामन्त्री डा. प्रकाशशरण महत अर्को पक्षलाई खुइल्याएर आफू राम्रो छु भन्ने प्रवृत्तिमा सुधार भएमात्र एकताको अर्थ रहने बताउँछन् ।
अर्को पक्ष पनि अहिले सभापतिले गरेका सहमति चिरस्थायी हुनेमा ढुक्क छैन ।
एकताको सन्देश भने गएको छ । तर, विधि र प्रक्रियाबाटै समाधान खोजिन्छ कि अन्यत्रबाट भन्ने आशंका कायम रहेको असन्तुष्ट पक्षका नेता अर्जुननरसिंह केसीको भनाइ छ ।
पार्टीभित्रको आन्तरिक द्वन्द्वले क्षति भएको निष्कर्षमा पुगेका दुवै पक्ष अब पार्टी महाधिवेशनका प्रक्रियालाई संगठन सुदृढीकरणको रुपमा लान तयार भएका छन् ।
पार्टीभित्र गुट भएमात्र शक्ति सन्तुलन हुने र त्यसले व्यवस्थालाई बलियो बनाउने बुझाइमा रहेका कांग्रेस नेताहरु गुट व्यवस्थापनसहितको शक्ति सन्तुलनबाट नै पार्टीलाई बलियो बनाउन सकिनेमा छन् ।
एकपछि अर्को गर्दै विवादमा फस्ने कांग्रेसमा फेरि एकपटक मिलन देखिएको छ । मिलनसँगै एक–अर्काप्रति देखिएको आशंकाले भने १४औं महाधिवेशनअघि कांग्रेसभित्रको विवाद फेरि पनि नबल्झिएला भन्न सकिन्न ।









प्रतिक्रिया दिनुहोस्