काठमाडौं, माघ २२ । राष्ट्रियसभाको बुधबारको बैठकमा एकजना सदस्यले कविता सुनाए ।
समाजवादी पार्टीतर्फका सांसद रामप्रीत पासवानले कवितामार्फत् सरकारका काम–कारबाहीप्रति व्यंग्य गरेका हुन् ।
‘कोरोनाभाइरसभन्दा पनि खतरनाक भ्रष्टाचार नामको भाइरस नेपालमा फैलिएको छ । त्यतातिर पनि हाम्रो ध्यान जाओस् । सरकारको ध्यान जान जरुरी छ’–उनले भने ।
उनले देशमा भ्रष्टाचार भयावह स्थितिमा पुगिसकेको बताए । युवावर्ग बेरोजगार रहेको, महँगी बढ्दै गएको उनले उल्लेख गरे ।
उनले नेपाली युवाहरुको आवाजलाई आफूले सुनाउन चाहेको भन्दै राष्ट्रियसभा बैठकमा कवितावाचन गरे ।
सांसद रामप्रीत पासवानले सुनाएको कविता
नेपालीहरु खोज्दैछन् विकास र समृद्धि
अनायास देख्दैछन्, दन्डहीनता र भ्रष्टाचारमा वृद्धि
तरकारीबजारदेखि सरकारी कार्यालयसम्म
भ्रष्टाचार झाँगिइसक्यो
शैसवकालमै समृद्धिलाई
कोरोनाभाइरसले खाइसक्यो
समानता, स्वतन्त्रता सिकिस्त छन्
लोकतन्त्र पनि थला परिसक्यो
संघीयता, गणतन्त्र छट्पटिँदैछन् यहाँ
समावेशीताका पारा झरिसक्यो
आफ्नै भूमिमा नागरिकता दिँदैनौ ठानेर विदेशी
के अपराध हो जन्मनु भइ जनजाति र मधेसी ?
गाँस, बास र कपास माग्दा कुरामात्रै चिल्ला
जनता आवाज भूमि ऐन पनि कहाँ छ र गतिला ?
हिँड्ने सडक माग्दा जहाजको कुरा झिक्छौ
सत्ता टिकाउन, विदेशी डलर पाउन आफैं किन बिक्छौ ?
यहाँसम्म कि सरकार यती सम्झौता, गोकर्ण रिसोर्ट र मेलम्ची
ठेक्कामा के ठीक छौ ?
सरकार न्याय र समानताको नारा लगाउँछौं बेस्सरी
समान दोषमा कोही सत्तामा त कोही जेलमा कसरी ?
ढुकुटीमा मोजमस्ती, अनुदानमा गर्छौ भोज
जनता किन भोकै छन्, गरियो काम खोज ?
देश बनाउने युवाशक्ति खाडीमा फाल्दैछन् ज्यान
के पाए युवाले सिवाय तिरस्कार र अपमान ?
तिमीलाई छुट कसरी गर्न वाइडबडी र एनसेलकान्ड ?
पुर्खाको पौरख गुमाउँदै हँसाइ पूरै बम्हान्ड ?
प्याजको भाउ घट्दै गर्दा कुखुराको भाउ आकासिइसक्यो
के गर्यौ सरकार, कुखुराको मूल्यले होलीको मुखैमा पिरोलिसक्यो ।









प्रतिक्रिया दिनुहोस्