
काठमाडौं । नेपाल वायु सेवा निगमले वित्तीय संस्थाहरूलाई तिर्नुपर्ने रकम ५० अर्ब रुपैयाँ नाघेको छ । एयरबसका चारवटा जेट र चिनियाँ विमान खरिद गर्दा लिएको ऋण तथा ब्याजसहितको रकम हो यो । सरकारी स्वामित्वको राष्ट्रिय ध्वजावाहक निगमको ६३ वर्षको इतिहासकै यो सबैभन्दा ठूलो ऋण भार हो ।
नेपाल सरकारको जमानीमा ६ वर्षअघि निगमलाई दुइटा न्यारोबडीका लागि १० अर्ब र चार वर्षअघि कोषले फेरि एउटा वाइडबडीका लागि १२ अर्ब रुपैयाँ ऋण करिब ९ प्रतिशत ब्याजदरमा दिएको थियो । त्यस्तै, नागरिक लगानी कोषले पनि अर्को वाइडबडीका लागि साढे १० प्रतिशत ब्याजदरमा १२ अर्ब रुपैयाँ दिएको थियो । निगमले यी दुई निकायबाट मात्रै ३४ अर्ब ऋण रुपैयाँ उठाएको देखिन्छ ।
त्यस्तै, चिनियाँ जहाज किन्दा लिएको ३ अर्ब ६० करोडसमेत गर्दा निगमको दीर्घकालीन ऋण नै ३७ अर्ब ६० रुपैयाँ छ । जबकि २०७५ सालमा निगमका तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलले जारी गरेको श्वेतपत्रमा निगमको कुल सम्पत्ति ४८ अर्ब ९३ करोड रुपैयाँ देखाइएको थियो ।त्यसमा निगमसँग रहेका जहाज तथा इन्जिन, पार्टपुर्जा, भवन, जग्गा, बैंक मौज्दात, ग्राउन्ड ह्यान्डलिङका उपकरणहरूको तत्कालको बजार मूल्यलाई जोडिएको थियो ।
यति ठूलो रकम ऋण भार भएको निगमले व्यवस्थापन प्रभावकारी नहुँदा साँवा तिर्नु त परै जाओस् ब्याजको किस्तासमेत समयमा बुझाउन सकिरहेको छैन । निगमले दुवै संस्थासँग १५–१५ वर्षभित्र ६०–६० वटा किस्तासहित चारवटै जहाजको ऋण तिर्ने सम्झौता गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्