५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पटवालद्वारा राजीनामा


0
Shares

काठमाडौं, माघ २० । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् ।

उनले आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत् काठमाडौंमा बुधबारदेखि सुरु हुने ओमान र अमेरिका सहभागी त्रिकोणात्मक क्रिकेट सकिएपछि लागू हुनेगरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)लाई राजीनामापत्र पठाएको स्रोतले बताएको छ ।

८ महिनाअघि जगत टमाटाको स्थानमा मुख्य प्रशिक्षकका रुपमा भित्रिएका भारतीय प्रशिक्षक पटवालले नेपाली क्रिकेटलाई उचाइमा पुर्‍याउन नसकेको आलोचना खेप्दै आएका थिए ।

आइसीसीबाट मासिक सात हजार अमेरिकी डलर पाउँदै आएका पटवालले चार महिनाको तलब पाउन बाँकी रहेको भन्दै नेपाल छाड्ने बताउँदै आएका थिए ।

उनले पोखरामा भएको नेपालको बन्द प्रशिक्षणका लागिसमेत समय दिएका थिएनन् ।

जानकारी छैन : क्यान

यसैबीच, नेपाल क्रिकेट संघ (क्यान)ले पटवालको राजीनामाबारे जानकारी नभएको बताएको छ ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले राजीनामाबारे क्यानलाई कुनैपनि जानकारी नभएको बताए ।

क्यान निलम्बनमा परेका बेलामा आइसीसी र राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा पटवाल नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएपनि फुकुवा भइसक्दासमेत क्यानसँग सहकार्य हुन सकेको छैन ।