खिलनाथ ताजपुरिया (इमेज)
काठमाडौं, माघ २० । सत्तारुढ नेकपाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अध्ययन गर्न बनाएको कार्यदलले काम सुरु गरेको छ ।
कार्यदलको पहिलो बैठक सोमबार सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बस्यो ।
एमसीसीबारे नेकपाभित्र शीर्ष नेताहरुबीचमै दन्तबझान हुँदै आएको छ । उनीहरुबीचको मतभिन्नताको असर पार्टी केन्द्रीय समिति बैठकमा परेपछि एमसीसीबारे अन्योलता बढाउने गरी निर्णय भयो ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने पक्षमा देखिँदै आएका छन् ।
तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल ओलीकै गतिमा देखिएका छैनन् ।
तीन गुटका मूल नेताहरुबीच मतभिन्नताको असर नेकपा केन्द्रीय समिति बैठकमा देखियो ।
यही माघ १४ गते बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा अनुमोदनका लागि प्रतिक्षारत् एमसीसी छिटोभन्दा छिटो पारित गर्नेमा प्रतिबद्ध देखिए ।
नेकपा बैठकमा ओली समर्थक केन्द्रीय सदस्यहरुले एमसीसीकै पक्षमा आवाज उठाए ।
तर, ओलीसँग अर्का अध्यक्ष दाहालको लय मिलिरहेको थिएन ।
हो, दाहाल समूहका केन्द्रीय सदस्यहरुले एमसीसी हतारमा पारित गर्न नहुने आवाज बुलन्द गरे ।
नेकपाभित्र एउटा गुट सन्चालन गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपाल एमसीसीबारे आशंकाहरु पालिरहेका छन् ।
नेपाल समर्थक केन्द्रीय सदस्यहरुले एमसीसीबारे आशंकायुक्त भनाइहरु बैठकमा राखेका थिए ।
उसो त पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि एमसीसीको समर्थक होइनन् । नेता भीम रावल त एमसीसीको कटु आलोचक बनेर निस्किएका छन् । यसले नेकपाभित्र एमसीसीको विपक्षीहरु बलियो रहेको बुझ्न गाह्रो छैन ।
नेकपाभित्र शीर्ष नेताबीच एक मत नहुँदा केन्द्रीय समिति बैठकले एमसीसीबारे ठोस निर्णय लिन सकेन । र, तीन सदस्यीय अध्ययन कार्यदल गठनको औपचारिकता पूरा गरेर झनै अन्योलता बढाइयो ।









प्रतिक्रिया दिनुहोस्