काठमाडौं, पुष ८ । चालु आर्थिक वर्षको ५ महिनामा व्यापार घाटा ७ खर्ब नाघेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ५ महिनाको तथ्याकं अनुसार मंसिर मसान्तसम्म ८ खर्ब ३८ अर्बको आयातमा निर्यात १ खर्ब २ अर्ब हुँदा व्यापार घाटा ७ खर्ब ३५ अर्ब भएको हो ।
भन्सार विभागका अनुसार मंसिर मसान्तसम्म ९ खर्ब ४१ अर्बको वैदेशिक व्यापार भएको छ । यस अवधीमा निर्यातमा १ सय ५ प्रतिशतले वृद्धि भएको छ भने आयात ५९ प्रतिशतले वृद्धि भएको छ । मंसिर मसान्तसम्म सबैभन्दा बढी पेट्रोलियम पदार्थ १ खर्ब १२ अर्बको आयात भएको छ ।
यो नेपालको कुल निर्यात भन्दा बढी रकम हो । यसै गरी चालु आर्थिक वर्षको ५ महिनाको अन्त्यसम्म ६३ अर्ब २२ करोड बराबरको मेसिनरी वस्तु आयात हुँदा, ५७ अर्ब २५ करोडको विद्युतीय सामग्री आायात भएको छ ।
यसअवधिमा ५३ अर्ब ४५ करोडको त सवारी साधन आयात भएको छ भने ४६ अर्ब ५४ करोड बराबरको फर्निचरजन्य सामग्री आयात भएको छ । यसैगरी ६९ करोड ८४ लाख बराबरको जनावर तथा तरकारी आयात हुँदा ३२ अर्ब २३ करोडको औषधीजन्य सामग्री, ३ अर्ब ८६ करोडको प्लाष्टिकजन्य वस्तु आएको छ ।
यसैगरी निर्यात तर्फ भने पाम, सोयाबिन र सनफ्लावर तेलको निर्यात उच्च भएको भन्सार विभागले जनाएको छ । यस वर्ष दैनिक साढे ६ अर्ब बढीको वस्तु आयात हुँदै आएको छ । मंसिर मसान्तसम्म भारतसँग मात्रै नेपालको कुल व्यापार घाटा सवा ४ खर्ब नाघेकोे छ ।








प्रतिक्रिया दिनुहोस्