
रौतहट, माघ १८ । रौतहटमा सम्पन्न चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली चन्द्रपुर नगरपालिकाले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई ‘टाइब्रेकर’मा ४–३ ले हराउँदै चन्द्रपुर च्याम्पियन बनेको हो ।
स्व. शेरबहादुर दर्लामी हातेमालो खेलमैदानमा भएको खेलको निर्धारित् ९० र थप गरिएको ३० मिनेटको समयमासमेत गोलरहित बराबरी भयो । त्यसपछि खेल टाइब्रेकरमा धकेलिएको हो ।
पेनाल्टी ‘सुटआउट’मा चन्द्रपुरका तर्फबाट सलोनी रानामगर, अस्मिता वैद्य, सपना राई र सविता रानामगरले गोल गरे । वालिङका तर्फबाट मनमाया दमाइँ, पुष्पा गुरुङ र प्रतीक्षा चौधरीले गोल गरेका थिए ।
विजेता चन्द्रपुरले तीन लाख रुपैयाँ नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्यो । उपविजेता वालिङले एक लाख ५० हजार नगद र ट्रफी पायो ।
उत्कृष्ट
प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै चन्द्रपुरकी रजनी ठोकरले एउटा स्कुटी प्राप्त गरिन् ।
उत्कृष्ट मिडफिल्डरमा चन्द्रपुरकै सविता रानामगर, उत्कृष्ट डिफेन्डर चन्द्रपुरकै समीक्षा घिमिरे, उत्कृष्ट फरवार्ड रजनी ठोकर, उत्कृष्ट गोलकिपर वालिङकी सविता किसन र उत्कृष्ट प्रशिक्षक चन्द्रपुरका नुरराज काफ्ले घोषित भए । उनीहरुले जनही १५ हजार रुपैयाँ पाए ।
यही माघ १० गतेदेखि सुरु भएको प्रतियोगितामा देशभरका ‘उत्कृष्ट’ ८ नगरपालिका सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्