२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


चीनमा ‘कोरोनाभाइरस’बाट २५९ जनाको मृत्यु, ११ हजार ७९१ संक्रमित


0
Shares

बेइजिङ, माघ १८ । विश्वव्यापी बन्दै गइरहेको ‘कोरोनाभाइरस’बाट चीनमा मृत्यु हुनेहरुको संख्या शनिबारसम्ममा २५९ पुगेको छ ।

चिनियाँ स्वास्थ्य अधिकारीहरुकाअनुसार कोरोनाभाइरसबाट प्रभावित हुनेहरुको संख्या भने ११ हजार ७९१ पुगेको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दैनिकरुपमा यससम्बन्धी विवरणहरु सार्वजनिक गर्ने गरेको छ ।

आयोगले बिरामी भएकामध्ये १७ सय ९५ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

अरु १७ हजार ९८८ जनालाई पनि कोरोनाभाइरसकै संक्रमण भएको आशंकामा परीक्षण गरिएको छ । उनीहरुको परीक्षणको नतिजा भने आइ नसकेको अधिकारीहरुले जनाएका छन् ।

बिरामी भएकामध्ये कुल २४३ जनालाई उपचारपछि अस्पतालबाट फिर्ता गरिएको स्वास्थ्य आयोगले जनाएको छ ।

आयोगकाअनुसार शुक्रबारमात्रै २१ सय दुईजना नयाँ संक्रमित भेटिएका छन् भने पाँच हजार १९ जनालाई शंकाको घेरामा राखेर परीक्षण भइरहेको छ ।

त्यसैगरी, शुक्रबारमात्रै थप ४६ जनाको मृत्यु भएको छ । तीमध्ये ४५ जना हुवेइ प्रान्तमा र एकजना चोङक्विङ नगरपालिकामा मृत्यु भएको हो ।

स्वास्थ्य अधिकारीहरुले शुक्रबार २६८ जना गम्भीर बिरामी थपिएको जानकारी दिएका छन् भने त्यही दिन ७२ जना उपचारपछि घर फर्किएका छन् ।

चीनकोे मध्य क्षेत्रमा पर्ने वुहान सहरमा सबैभन्दा पहिले देखिएको कोरोनाभाइरसको संक्रमण अहिले संसारका दुई दर्जनभन्दा बढी देशहरुमा फैलिइसकेको छ ।

भाइरसको प्रकोप फैलिँदै गएपछि विश्व स्वास्थ्य संगठनले आपत्कालीन अवस्थाको घोषणा गरेको छ भने विभिन्न देशले चीनसँगको नाकाबाट हुने आवत–जावतलाई कडाइ गरेका छन् ।

संसारका धेरै देशले आफ्नो सिमाना पार गरेर आउने हरेक व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने गरेका छन् । रासस/सिन्ह्वा