२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


बेलायतले युरोपेली युनियनसँगको ४७ वर्षे सहयात्रा तोड्दै


0
Shares

काठमाडौं, माघ १७ । संयुक्त अधिराज्य बेलायत शुक्रबार रातिदेखि नयाँ युगमा प्रवेश गर्दैछ ।

युरोपेली युनियनसँगको ४७ वर्षे सहयात्रा टुंग्याएर बेलायत स्थानीय समयअनुसार शुक्रबार मध्यराति नहुँदै ‘ईयू’बाट अलग्गिएको घोषणा गरिँदै छ ।

आजको दिनलाई ‘ब्रेक्जिट’ पक्षधरहरुले ‘नयाँ युगको सुरुआत’ भनेका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राति ११ बजे बेलायत ईयूबाट अलग भएको औपचारिक घोषणा गर्नेछन् ।

शुक्रबार बिहान सुन्दरल्यान्डमा बसेको मन्त्रिपरिषद् बैठकले ब्रेक्जिटलाई औपचारिकता दिइसकेको छ ।

प्रधानमन्त्री जोन्सनले ब्रेक्जिट कार्यान्वयनलाई बेलायतको अन्त्य नभइ नयाँ सुरुआत भनेका छन् ।

ब्रेक्जिट पक्षधरहरुले आतिसबाजी र र्‍यालीको आयोजना गरेर खुसियाली बाँड्दैछन् ।

सन् २०१६ मा बेलायत ईयूबाट अलग हुने कि नहुने भन्ने विषयमा भएको जनमतसंग्रहमा ब्रेक्जिट पक्षधरको जित भएको थियो ।

तर, बेलायती संसदले जनमतसंग्रहको निर्णयलाई अनुमोदन नगर्दा औपचारिक घोषणा लम्बिँदै आएको हो ।

यही विषयले सत्तारुढ दल कन्जरभेटिका दुई/दुईजना प्रधानमन्त्रीले अल्पकालमै राजीनामा गर्नुपर्‍यो ।

तर, गत डिसेम्बरमा सम्पन्न निर्वाचनमा ब्रेक्जिट अभियानको नेतृत्व गरेका प्रधानमन्त्री जोन्सनले भारी बहुमत पाएपछि उनले जनवरी ३१ तारिखभित्र ईयूबाट अलगिने घोषणा गरेका थिए ।

आजै रातिदेखि बेल्जियमको ब्रसेल्सस्थित ईयूको हेडक्वार्टरबाट बेलायती झन्डा झिकिने छ ।

ईयू अध्यक्ष उरसुला भोन दर लेयनले बेलायती झन्डा अब ईयू संग्रहालयमा जाने बताएका छन् ।

बेलायत ईयूबाट बाहिरिएपछि सन् २०२० भरि खुला आवत–जावतलगायतका गतिविधि भने रोकिने छैनन् ।

बेलायतले यसै वर्षको अन्तसम्ममा ईयूसँग खुला व्यापार सम्झौता गरिसकेपछि खुला आवत–जावतका गतिविधिहरु रोकिने छन् । (एजेन्सी)