Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


नेकपामा थप ध्रुवीकरणको संकेत


0
Shares

रोमन आचार्य र उत्तम मानन्धर (इमेज)

काठमाडौं, माघ १७ । लामो समयपछि बसेको सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठकमा राष्ट्रिय मुद्दाहरुलाई खासै प्राथमिकता दिइएन ।

बैठकलाई नजिकबाट नियालिरहेका राजनीतिक विश्लेषकहरु नेकपा बैठकमा देखिएको गुटगत प्रभावले पार्टीलाई थप ध्रुवीकृत बनाएको ठान्छन् ।

नेकपाको जारी केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा विवादित विषयहरु समेटिएन ।

केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री तथा अध्यक्ष ओलीले बचाउ गर्दै आएको यती होल्डिङ्ससँग पार्टी सति जान नहुने र अमेरिकी सहयोगकेन्द्रित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) हतारमा कार्यान्वयनमा ल्याउन नहुने विषय जोडतोडले उठाएका छन् । यी दुवै विषय अध्यक्षको प्रतिवेदनमा समावेश थिएनन् ।

यसका अतिरिक्त बैठकमा कालापानी सीमा विवाद, तत्कालीन सभामुख कृष्णबहादुर महरा प्रकरण तथा सभामुख चयन र बालुवाटार जग्गा प्रकरणजस्ता जनचासोका विषय छायामा परेका छन् ।

विषयकेन्द्रित नहुँदा बैठकसँगै नेकपामा थप ध्रुवीकरणको संकेत मिलेको छ ।

पार्टी एकतापछि दोस्रोपटक बसेको केन्द्रीय समिति बैठकमा राष्ट्रिय महत्वका विषय एजेन्डा नबनेकाले बैठकबाट रचनात्मक निर्णय आउने आशा गर्न नसकिने विश्लेषक मुमाराम खनाल बताउँछन् ।

पार्टी नेतृत्व र सरकारलाई सही बाटोमा ल्याउन बैठकमा जमेर छलफल हुनुपर्नेमा त्यसो हुन सकेन । केन्द्रीय सदस्यहरु प्रमुखको अगाडि लत्रिएमात्र ।

पार्टीले गत आमनिर्वाचनमा देश र जनतासमक्ष अनेक सपना देखायो । तर, अहिलेको बैठकमा घोषणापत्रमा जनाइएका प्रतिबद्धता सम्झने प्रयाससमेत भएन ।

नेताको अगाडि कार्यकर्ता पर्नै नसक्ने नेपाली राजनीतिको रोग नै हो ।

गुटको प्रभावमा परेर केन्द्रीय नेताहरुले पनि आलोचनात्मक चेत गुमाउने हो भने नेकपाका ठूला नेताले गर्ने सबै गलत कामलाई सदर गरेको ठानिनेछ ।

भिडियो हेर्नुहोस्