सरोज अधिकारी र नवीन स्थापित (इमेज)
काठमाडौं, माघ १७ । संसदको शून्य समयमा उठाइने विषयहरु सरकारले कार्यान्वयन गर्ने नगरेको भन्दै सांसदहरुले शून्य समय हटाएर विशेष समयमा थप्न माग गरेका छन् ।
कतिपय सांसदहरुले त छाउगोठ भत्काउने नाममा सरकारले जनताको घर नै भत्काइदिएको भन्दै आपत्तिसमेत जनाएका छन् ।
लामो समयसम्म संसद स्थगित हुँदा आफ्ना गाउँ–ठाउँका समस्या सुनाउन नपाएका सांसदहरुले संसद सुचारु भएपछि समस्या राख्न थालेका छन् ।
शुक्रबारको शून्य समयलाई सांसदहरुले राम्रैसँग प्रयोग गरे । तर, शून्य समयमा बोलेको कुरा कार्यान्वयन नहुँदा ‘बोलेर पो के हुन्छ र ?’ भनेर सरकारलाई व्यंग्य गर्न पनि पछि परेनन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले शून्य समयमा बोलेको कुरा सरकारले नसुन्ने भन्दै यसलाई हटाउन माग गरे ।
सत्तारुढ नेकपाकै सांसदहरुले पनि सरकारले संविधान कार्यान्वयनलाई जोड नदिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
संविधानले समावेशी लोकतन्त्रको कुरा गरे पनि सरकार त्यसको विपरीत हिँडेको आरोप छ, नेकपा सांसद छविलाल विश्वकर्माको ।
यस्तै, नेकपा सांसद झपट रावलले पूर्व–पश्चिम राजमार्गको पश्चिमखन्ड निकै असुरक्षित भएकाले तत्काल विस्तार गर्न माग गरे ।
सांसदहरुले विकासका कुरामात्र गरेनन्, सार्वजनिक शौचालय नहुँदा पानी नखाइ हिँड्नुपर्ने अवस्था रहेको गुनासो पनि गरेका छन् ।
सांसद आशा विकले काठमाडौंमा सार्वजनिक शौचालय नहुँदा पानी नखाइ हिँड्नुपर्ने अवस्था रहेको बताइन् ।
सुदूरपश्चिमका विभिन्न जिल्लामा छाउगोठ भत्काइएकोप्रति सत्तारुढ नेकपा सांसद गजेन्द्रबहादुर महतले चर्को आलोचना गरे ।
सांसद महतले ‘बस खस्दा मान्छे मर्छ, के अब बस नै जलाउने ?’ भन्दै छाउगोठको नाममा घरै भत्काइएको जिकिर गरे ।









प्रतिक्रिया दिनुहोस्