
भैरहवा, साउन २० । उपचारका क्रममा आफ्ना सहपाठीको मृत्यु भएपछि भैरहवास्थित यूनिभर्सल कलेज अफ मेडिकल साइसेन्स शिक्षण अस्पतालका विद्यार्थीहरु अराजक रुपमा आन्दोलित भएका छन् ।
कलेजको ब्याचलर अफ डेन्टल सर्जरी (बिडिएस) चौथो बर्षमा अध्यनरत जनकपुरका २२ बर्षीय महादेव साहको उपचारको क्रममा अस्पतालमा मृत्यु भएपछि विद्यार्थीहरुले अस्पतालको अति संवेदनशील ईकाई मानिने आइसियू, सिसियू, हेमोडाइलेसिस लगायत अन्य ईकाईको भौतिक संरचनासमेत तोडफोड गरेका छन् ।
घटनाबारे जानकारी पाएका पत्रकारहरु समाचार संकलनका लागि अस्पतालमा पुगेलगत्तै विद्यार्थीहरुले आन्दोलनको छायांकन/तस्विर किन खिचेको भन्दै एकाएक पत्रकारको क्यामरा खोसेर तोडफोड गर्नुका साथै आक्रमण गरेका थिए । पत्रकारले रुपन्देही प्रशसानसँग सुरक्षा माग गर्दासमेत प्रशासन मुकदर्शक बनेको पीडित पत्रकारहरुले बताए ।
मलद्वारको छेउमा आएको पिलोको गलत उपचार हुँदा साहको मृत्यु भएको पीडित परिवारको आरोप छ । साहको आइसियूमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको अस्पताल प्रशसानले जनाएको छ । सहपाठीको मृत्युपछि अराजक रुपमा एकाएक आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले अस्पतालको भौतिक संरचना तोडफोड गर्नुका साथै मृतक साहको शव आइसियूबाट शवगृहमा लैजान समेत दिएका छैनन् ।
लुकेर ज्यान जोगाएँ : बिरामी कुरुवा
विद्यार्थीहरुले आइसियू लगायत क्षेत्रमा तोडफोड गर्दा अस्पतालमा उपचारत विरामी तथा कुरुवाहरुलाई समस्या परेको थियो । कुरुवाहरुले भागेर आफ्नो ज्यान जोगाएको बताए ।
अस्पतालमा आफ्नो श्रीमानको हेमोडाइलेसिस गराउन आएकी गौडहवा गाउँपालिकाको सूर्यपुराकी हरीकला कँडेलले अराजक शैलीमा विद्यार्थीहरु एकाएक आइसियूमा पसेर तोडफोड गर्न सुरु गरेपछि आफुले लुकेर आफ्नो ज्यान जोगाएको बताइन् ।
‘विद्यार्थीहरुको शैली हेरेर निकै डर लागेको थियो, उनीहरु (विद्यार्थी) भित्र पसेपछि यहाँ त सबै आफ्नो ज्यान कसरी जोगाउने भन्दै भागभाग मच्चियो,’ उनले भनिन्, ‘निकैबेर लुकेर बसेपछि प्रहरी आएर हामीलाई बाहिर निकाल्यो । बाहिर आउँदा आइसियू युद्ध मैदानजस्तै भएको थियो, चारैतिर फुटेको सिसामात्र थियो ।’
विद्यार्थीहरुले तोडफोड गरिरहँदा अस्पतालमा आएको प्रहरी मुकदर्शक बनेको थियो । विद्यार्थीलाई नियन्त्रणमा लिनका लागि आदेश नआएको भन्दै प्रहरी रमिते बनेर बसेका थिए ।
आइसियूमा १७ जना विरामी उपचारत अवस्थामा छन् । जसमध्ये ९ जना बिरामी भेन्टिलेटरमा उपचारमा अवस्थामा रहेको अस्पतालका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताए ।
उनले विद्यार्थीहरुको तोडफोडका कारण कुरुवाहरुलाई समस्या परेको बताउँदै विरामीहरुलाई भने क्षति नपुगेको बताए । उनले मृतक साहको मलद्वार छेउछाउमा पिलोले संक्रमण फैलिनुका साथै मिर्गौला र कलेजो काम नलाग्ने अवस्था लगायत अन्य समस्याले मृत्यु भएको दावी गरे । उनले मृतक परिवारसँग छलफल नभएको र छलफल गरेर अस्पताल प्रशसान अगाडि बढ्ने बताए ।
आक्रमणकारीलाई कारवाही गर : पत्रकार
समाचार संकलनको क्रममा क्यामरा तोडफोड गरेर आक्रमण गर्ने आक्रमणकारी विद्यार्थीहरुलाई पहिचान गरी कारवाही गर्न पत्रकारहरुले जिल्ला प्रशसान कार्यालय रुपन्देहीमा निवेदन दिएका छन् । एपीवान टेलिभिजनका राधेश्याम विश्वकर्मा र ईमेज टिभीका दीपक घिमिरेले जिल्ला प्रशसान कार्यालयमा निवेदन दिँदै घटनाबाट भएको क्षतिको पूर्ति र आक्रमणकारीलाई कारवाही गर्न माग गरेका छन् ।
घटना निन्दनीय र आपत्तिजनक : महासंघ
समाचार संकलनका लागि अस्तापमा पुगेका पत्रकारहरुलाई विद्यार्थीहरुले आक्रमण, दुव्र्यवहार र क्यामरा तोडफोड गरेपछि नेपाल पत्रकार महासंघ रुपन्देहीले घटनाको भत्र्सना गरेको छ ।
समाचार संकलनका लागि अस्पताल पुगेका पत्रकारहरु क्यामरा खोसेर तोडफोड गर्नुका साथै उनीहरुमाथि भएको आक्रमण निन्दनीय र आपत्तिजनक रहेको महासंघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
यसैबीच भैरहवाका पत्रकारहरुको साझा संस्था लुम्बिनी प्रेस क्लबले पनि घटनाको घोर भर्त्सना गरेको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले पत्रकारमाथि दुर्व्यहार तथा क्यामरा तोडफोड गर्ने आन्दोलनरत विद्यार्थीको पहिचान गरी कारवाही गरिने आश्वासन दिए । उनले घटनाको दोषीलाई घटनास्थलबाटै पक्राउ गरेर ल्याउँदा अवस्था जटिल हुने भन्दै अनुसन्धान गरेर दोषी उपर कारवाही गरिने बताए ।
प्रतिक्रिया दिनुहोस्