
काठमाडौं, पुष ४ । उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पतालले मष्तिष्कघात र दिमागको नशा फुलेर समस्या भएका बिरामीको बिना शल्यक्रिया उपचार गरिने पद्धति भित्र्याएको छ ।
अस्पतालले नेपालमा नै पहिलो पटक यो सेवा सुरु गरेको दावी गरेको छ । वरिष्ठ न्यूरो चिकित्सक स्व डा. उपेन्द्र देवकोटाको ६७ औँ जन्म जयन्तीको अवसर अस्पतालले शल्यक्रिया बिना नै तारको माध्यमबाट उपचार गरिने न्यूरो इन्टरभेन्सन सेवा सुरु गरेको हो ।
न्यूरो चिकित्सक डा. सुवास फुयाँलले वाहिरी देशहरुमा सन् २०१५ देखि सुरु भएको न्युरो इन्टरभेन्सन सेवा नेपालमा समेत सफल रुपमा सुरु गर्न सकेको बताउनुभयो । मतिष्कको मोटो नशा बन्द हँुदा यो पद्धतिबाट नै उपचार गर्नुको बिकल्प नरहेको बताउँदै उहाँले शल्यक्रियाबाट गरिने उपचार भन्दा केही फरक रहेको बताउनुभयो ।
यस अन्तर्गत् मतिष्कघात भएका विरामीको हात वा खुट्टावाट क्याथेटर अर्थात् एक किसिमको मसिनो पाइप छिराएर समस्याग्रस्त नसामा उपचार गरिन्छ । मतिष्कघात भएका विरामीको २४ घण्टाभित्र नै न्यूरो इन्टरभेन्सनबाट उपचार गराउन सकिए पूर्ण रुपमा निको पार्न सम्भव हुने डा. फुयाँलले बताउनुभयो ।
७ देखि १० प्रतिशत विरामीको नशा नखोलिने समस्या समेत आउन सक्ने भन्दै उहाँले अस्पताल आउँदाको स्वास्थ्य अवस्थाले पनि उपचार प्रभावमा भरपर्ने बताउनुभयो । उपचारमा प्रयोग हुने सामाग्री निकै महँगो पर्ने भएकाले ३ देखि ५ लाखसम्म खर्च लाग्ने अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्