Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


नेकपा बैठकमा समूहगत छलफलसँगै साक्षात्कार हुँदै


0
Shares

प्रकाश सिलवाल/शरद शर्मा (रासस)

काठमाडौं, माघ १६ । बाटामा भेट्दा एकार्कालाई नचिन्ने अवस्था नहोस्, आपसमा हात मिलाइयोस् र अभिवादन साटासाट होस् भनेर बैठकमा सहभागीबीच खुलेर कुराकानी गर्न थालेका छौं’–पार्टी एकताको लामो अन्तरालपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा आपसी अन्तरघुलनबारे केन्द्रीय सदस्य मनकुमारी केसी भन्छिन्–‘एकतापछि ठूलो पार्टी भएको छ । हामी विकास र समृद्धिसँगै पार्टीलाई जनस्तरसम्म पुर्‍याउन देशव्यापी अभियानको तयारीमा छौं । अभियानमा जानुपूर्व केन्द्रीय नेतृत्वका लागि यो बैठक एक ऐतिहासिक अवसर हो । हामी हाम्रो काँधमा रहेको जिम्मवारी बहन गरी बैठकलाई सफल बनाउन लागेका छौं ।’

बुधबारदेखि सुरु भएको सो पार्टीको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि बिहीबार समूहगत छलफल सुरु भएको छ ।

विभिन्न १५ समूहमा विभाजित समूह काठमाडौंको राष्ट्रियसभागृह, धूम्रबाराही र पेरिसडाँडाका कार्यालयमा छलफलमा व्यस्त छन् ।

बैठकमा पार्टी र सरकारको सम्बन्ध, राष्ट्रिय, अन्तर्राष्ट्रिय सवाल, मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)को अनुमोदन, सीमा विवादलगायत विषय मुख्य सवाल छन् ।

पेरिसडाँडास्थित समूहमा रहेका केन्द्रीय सदस्य गरिमा साहले एकतापछि आफूहरु घुलमिल हुनेक्रम बढेको जनाउँदै बैठकमा प्रस्तुत कार्यसूचीमा गहनताका साथ छलफल जारी रहेको बताइन् ।

उनले समावेशी सिद्धान्तअनुसार महिलालाई पार्टीको सचिवालय र स्थायी कमिटीमा राख्नुपर्ने, पार्टीमा माथिल्लो कमिटीको हस्तक्षेप कम हुनुपर्ने मत राखेको बताइन् ।

धूम्रबाराहीस्थित समूहमा सहभागी केन्द्रीय सदस्य रचना खड्काले समूहमा एमसीसीलाई जस्ताको त्यस्तै पास नगरी राष्ट्रिय हितका लागिमात्रै पास गर्नुपर्ने, अहिलेकै स्थितिमा पार्टी एकीकरणमा ढिलाइले पार्टी महाधिवेशन तोकिएको समयमा गर्न नसकिनेलगायत विषयमा छलफल भएको जानकारी दिइन् ।

समूह छलफलमा रहेका केन्द्रीय सदस्य यदुवंश झाले शीर्ष नेता र केन्द्रीय सदस्यबीच एकतापछिको २० महिनापछि साक्षात्कार हुन पाएको उल्लेख गर्दै पार्टीलाई तराई–मधेसमासमेत आगामी दिनमा थप प्रभावकारी बनाउन यो बैठक सार्थक हुने अपेक्षा गरे ।

उनले राजनीतिक नियुक्ति गर्दा पुराना र त्यागी कार्यकर्ता पाखा लगाएर नयाँ र अवसरवादीलाई स्थान दिइएको गुनासो गरे ।

केन्द्रीय सदस्यले पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफल गरी टोली नेतामार्फत् शुक्रबार र शनिबारको बैठकमा प्रस्तुत गर्नेछन् ।

वर्णानुक्रमअनुसार विभाजन गरिएका ४४१ केन्द्रीय सदस्यले प्रतिवेदनमाथि छलफल गरिरहेको राष्ट्रियसभागृहस्थितको समूहमा सहभागी स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले जानकारी दिए ।

समूहले आफ्नो टोली नेता आफैं चयन गरेर छलफल सुरु गरेको अर्का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।

नेता विश्वकर्माले प्रतिवेदनमाथि प्रारम्भिक छलफल सुरु गरिएको जनाउँदै प्रतिवेदनमा छुटेका विषयमा आफूहरुले राय दिने उल्लेख गरे ।

टोली नेतालाई २०/२० मिनेट प्रतिवेदन पेस गर्न समय दिइएको छ ।

बैठक सोमबारसम्म सन्चालन हुनेछ ।

बन्दसत्रमा अध्यक्ष दाहालले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी २०७७ चैत मसान्तसम्म पार्टीको एकताको महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका थिए ।

यसैगरी, बैठकमा केन्द्रीय निकायका अध्यक्षलाईसमेत बोल्ने दिइने भएको छ । निकायका अध्यक्षलाई १० मिनेट समय छुट्याइएको छ ।

कार्यविधिअनुसार आइतबार समूहगत छलफलमा उठेका विषयमा निष्कर्ष प्रस्तुत गर्ने र दस्तावेज पारित गर्ने कार्य तालिका छ ।