२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


पाकिस्तानद्वारा अफगानिस्तानसँगको मुख्य नाका बन्द


0
Shares

इस्लामावाद, माघ १५ । पाकिस्तानले छिमेकी मुलुक अफगानिस्तानसँगको मुख्य नाका ‘अनिश्चितकाल’का लागि बन्द गरेको छ ।

अफगानिस्तान र पाकिस्तानबाट आवत–जावत गर्ने मुख्य नाकाका रूपमा रहेको तोर्खाम नाका पाकिस्तानले ‘अस्थायी’रूपमा बन्द गरेको हो ।

‘सुरक्षाको कारण’ देखाउँदै नाका बन्द गरिएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता अइशा फारुक्वीले अफगानिस्तानसँगको नाकास्थलमा आवत–जावत गर्न नमिल्ने गरी बन्द गरिएको बताइन् ।

‘हामीले अफगानिस्तानसँग कुराकानी गर्ने र सम्पर्क गर्ने गरिरहेका छौं । अहिले बन्द गरिएको नाका चाँडै नै खुला हुन्छ भन्ने विश्वास लिएका छौं’–उनले भनिन् ।

नाका बन्द भएपछि पाकिस्तान तथा अफगानिस्तान दुवैतर्फ ठूलो संख्यामा आमनागरिक तथा सवारी–साधनहरु अलपत्र परेको पत्रकार राहत शिन्वारीले सिन्ह्वालाई जानकारी दिए ।

‘नाका अहिले बन्द अवस्थामा रहेको छ’–शिन्वारीले भने ।

अफगानिस्तानको पूर्वी नानगार्हार प्रान्तका अधिकारीहरुले पनि सीमानाका बन्द गरिएको पुष्टि गरेका छन् ।

नानगार्हारका प्रवक्ता अतुल्लाह खोग्यानीले दुवै देशका अधिकारीहरुकाबीचमा कुराकानी भइरहेको जानकारी दिए ।

उनीहरुले नाका पुनः खुला गर्नेबारेमा पनि कुरा गरेको खोग्यानीको भनाइ छ । रासस/सिन्ह्वा