-दिपक घिमिरे/ ईमेज
रुपन्देही । पछिल्लो समय रुपन्देहीका सडकपेटी तथा सार्वजनिक स्थलमा बेसहरा, तथा सहयोगापेक्षी मानवहरु देखिन छाडेका छन् । सडकमा मागेर जीवन चलाइरहेका मानिसहरुको व्यवस्थापनमा मानव सेवा आश्रम जुटेसँगै त्यस्ता व्यक्ति विरलै मात्र भेटिने गरेका छन् ।
एकवर्ष अघिसम्म रुपन्देहीका सडकपेटी तथा सार्वजनिक स्थलमा बेसहारा तथा अभिभावकविहीन मानिसहरु थुप्रै देखिन्थे । मागेर जीविकोपार्जन गर्ने र खुला आकाशमुनी रात बिताउन विवश व्यक्तिको सहारामा मानव सेवा आश्रम जुटेपछि राहत मिलेको हो ।
२०६९ सालमा स्थापना भएको आश्रमले विसं २०८२ सालभित्र कोही पनि नागरिक भोकै र नांगै रहनुनपर्ने अवस्था नबनाउने उद्देश्य लिएकोे छ ।
सोही योजनाअन्तर्गत आश्रमले नेपालभरबाट ३ हजार तीन सय बढी सहयोगापेक्षी बेसहारा सडक मानवहरूको उद्धार गरी व्यवस्थापन गरिसकेको जनाएको छ ।
सातओटै प्रदेशका विभिन्न १४ जिल्लाहरूमा १९ ओटा सेवा केन्द्रहरूमार्फत् सेवा प्रदान गर्दै आएको आश्रमले प्रदेश ५ मा ५ सय बढी सहयोगापेक्षी सडकमानवहरूको उद्धार गरेको जनाएको छ ।
१ वर्षपहिले स्थापना भएको बुटवल शाखामा अहिले १ सय ३० जना अभिभावक विहीन व्यक्तिहरु बस्दै आएको मानव सेवा आश्रमका सस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।
बुटवल उपमहानगरपालिकाले पनि गत पौष ५ गते बेसहारा, सहयोगापेक्षी सडक मानवमुक्त उपमहानगरपालिकासमेत घोषणा गरेको छ ।
नगरप्रमुख शिवराज सुवेदी पनि बुटवल तथा आसपासका क्षेत्रमा सहयोगापेक्षी व्यक्ति तत्काल मानव सेवा आश्रममा खबर गर्न आग्रह गर्छन् ।
आश्रममा दुधेबालकदेखि १ सय ३ बर्षीय वृद्ध सम्मले सेवा लिएका छन् । मानव सेवा आश्रममा बेसहारा देखि मानसिक सन्तुलन गुमाएका सम्म छन् ।
उनीहरुको औषधि उपचारदेखि पालन पोषणसम्मको काम भइरहेकोे व्यवस्थापक विष्णु भुजेलको भनाइ छ ।
आश्रमले बुटवलमा पनि आफ्नै भवन तथा अक्षयकोष स्थापनाको लक्ष्य राखी माघ २० गतेदेखि २७ गतेसम्म श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञको आयोजना गर्न लागेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्