काठमाडौं । सत्तारुढ नेकपाको केन्द्रीय कमिटीको बैठक आज(बुधबार) बस्दैछ ।
पार्टी एकीकरण भएको २० महिनापछि दोस्रो पटक बस्न लागेको बैठकमा तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच एकता पछिको एजेण्डा तय भएपछि बैठक बस्न लागेको हो ।
चार सय ४१ सदस्य रहेको केन्द्रीय कमिटीको बैठकका लागि पार्टी कार्यालयमा पर्याप्त ठाउँ नभएपछि राष्ट्रियसभा गृहमा बैठक बोलाइएको हो ।
बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय कमिटी र आमन्त्रित स्थायी समिति सदस्यहरु सहभागी हुने बताइएको छ ।
गत वर्ष जेठ ३ गते पार्टी एकीकरण एक सातापछि जेठ १० गते प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो केन्द्रीय कमिटी बैठक बसेको थियो ।
उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले मात्र सम्बोधन गरेका थिए ।
तर आगामी आइतबारसम्म चल्ने बैठकमा केन्द्रीय सदस्यहरुले खुला रुपमा छलफल गर्न पाउने बताइएको छ ।
यसअघि मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गरेसँगै केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।
पार्टी ठूलो भएसँगै नेकपालाई केन्द्रीय बैठक सञ्चालन गर्न पार्टी कार्यालय साँघुरो भएपछि समस्या भएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा ठूलो संख्यामा अटाउने सभा हलको अभाव छ ।
बैठकमा सरकारको समीक्षा, एकीकरणपछिको अवस्था र बहुचर्चित अनुदान सहायता सम्झौतापत्र (एमसीसी) का विषयमा छलफल हुने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्