काठमाडौं, माघ १३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले साम्प्रदायिकताको नभइ जातीय मुक्तिको आवाज उठाएको जिकिर गरेका छन् ।
नेकपाको भातृसंगठन आदिवासी जनजाति महासंघ नेपालको सोमबार काठमाडौंमा आयोजित शपथ समारोहमा अध्यक्ष दाहालले जातीय मुक्ति र जातीय साम्प्रदायिकताको विषयलाई एकै ठाउँमा ‘गोलमाल’ गर्दा नेपालमा सामाजिक न्याय कमजोर बनेको टिप्पणी गरे ।
जातीय मुक्ति साम्प्रदायिकता र संकीर्णताभन्दा भिन्न रहेको उनको भनाइ थियो ।
नेपालमा जातीय र वर्गीय मुक्ति अन्तरसम्बन्धित रहेको भन्दै उनले यसलाई सही ढंगले परिभाषित गर्न नसकिएको उल्लेख गरे ।
वर्गीय र जातीय मुक्तिको अन्तरसम्बन्धलाई ठीक ढंगले परिभाषित गरेर अघि नबढेसम्म जनवादी क्रान्तिले पूर्णता नपाउने भन्दै उनले समाजवादी क्रान्तिको आधार पनि तयार नहुने बताए ।
अध्यक्ष दाहालले नेपालको संविधानमा केही परिवर्तन गर्नुपर्ने देखिएपनि जातीय समानताका लागि धेरै विषय सम्बोधन भएको जिकिर गरे ।
संविधानले उपलब्धिको रक्षा गर्ने र निरन्तर अघि बढ्ने ठाउँ दिएको उनको भनाइ छ ।
शोषण, उत्पीडनमा राखिएकाहरुलाई विशेष अधिकारसहित अगाडि ल्याउने वातावरण नबनाएसम्म समानताको कुरा गर्नु भ्रममात्र हुने धारणा उनले राखे ।









प्रतिक्रिया दिनुहोस्