१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


बसपार्क बन्यो तर चलेन


0
Shares

बाग्लुङ । बाग्लुङमा निर्माण भएको आधुनिक बसपार्क पहुँच मार्गको अभावमा प्रयोगविहीन भएको छ । नगर विकास कोषको ऋण सहयोगमा निर्माण भएको बसपार्कसम्म पुग्ने पहुँच मार्ग विस्तार र घडेरी व्यवस्थापनमा ढिलाइ हुँदा बसपार्क प्रयोगविहिन भएको हो ।

१९ वर्षअघि बागलुङ नगरपालिका ४, उपल्लाचौरको दावगह्रामा रहेको जग्गा एकीकृत गरेर स्थानीयले बसपार्क निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका थिए ।

एकीकृत गरिएको ५९ रोपनी जग्गामध्ये १७ रोपनी बसपार्क निर्माणका लागि प्रयोगमा आएको भएपनि बाँकी जग्गा जग्गाधनीलाई फिर्ता गर्न बाँकी छ । जग्गाधनीहरुबाट गठन गरिएको जग्गा व्यवस्थापन तथा विकास समिति बागलुङ नगरपालिका बीचमा बाँकी जग्गाको विकास तथा कित्ताकाटका विषयमा विवाद छ ।

२०७२ सालमा एकीकृत जग्गामध्ये नगरपालिकाको नाममा १७ रोपनी जग्गा छुट्टयाउँदा भएको सम्झौता कार्यान्वयन हुनुपर्ने जग्गा व्यवस्थापन तथा विकास समितिको माग छ । तत्कालीन एक हजार कित्ता जग्गा एकीकृत गरेर दुई कित्ता बनाइएको छ ।

३४ जनाको नाममा रहेको जग्गा एकैठाउँ भएकाले बसपार्कलाई दिएर बाँकी जग्गा योगदानका आधारमा कित्ताकाट गरेर वितरण गर्नुपर्नेछ । २०७५ सालमा एक वर्षभित्रै निर्माण सक्नेगरी सुरु भएको काम ३ पटक म्याद थपेर सकिएको हो । ७ करोड ६६ लाख ९९ हजार रुपैयाँको लागतमा बसपार्क तयार भएको हो ।