-रोमन आचार्य र विनोद बजगाईं(ईमेज)
काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा पार्टीको तर्फबाट उम्मेदवारी नै नदिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तिव्र आलोचना भएको छ ।
हत्या अभियोग खेपिरहेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता अग्नि सापकोटाको नाममा कांग्रेस सति गएको टिप्पणीहरु हुन थालेका छन् ।
लोकतन्त्र बलियो हुन संसदमा बलियो प्रतिपक्षको अपेक्षा गरिन्छ । संसदमा सशक्त भूमिका खेल्न नसकिरहेको भनेर आलोचित प्रमुख विपक्षी कांग्रेस सभामुख प्रकरणबाट थप आलोचित बनेको छ ।
सर्वोच्च अदालतमा हत्या अभियोगको मुद्दा खेपिरहेका नेकपा नेता सापकोटालाई समर्थन जनाएर कांग्रेसले जनमतको अपमान गर्यो र संसदीय प्रणालीको धज्जी उडाएको विश्लेषण हुन थालेको छ ।
उपसभामुख प्राप्त गर्ने लालसामा कांग्रेसले संसदको सभामुख निर्वाचनलाई विपक्षी विहीन बनायो ।
पार्टी सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेलसम्म नेकपाका नेताहरुको घरदैलो चहार्दै पार्टीलाई उपसभामुख पद चाहियो भनिरहेका छन् । यो कांग्रेसकै लागि घातक कदम हुनसक्ने आंकलन गरिएको छ ।
कांग्रेसलाई प्रतिपक्षी भूमिका खेल्ने हैसियत जनताले दिएका छन् । तर, कांग्रेसको निरीहता र लाचारीपनले उसको प्रतिपक्षी भूमिका निकै खुम्चिएको बरिष्ठ पत्रकार किशोर नेपालको बुझाइ छ । कांग्रेसले अहिले पनि तटस्थ भूमिका खेल्न नवनिर्वाचित सभामुख सापकोटासँग अपिल गरिरहेको छ ।
तर, द्धन्द्धकालिन मुद्दा खेपिरहेका नेतालाई सभामुख बनाउन सहमति जनाएर कांग्रेसले प्रतिपक्षी भूमिका त खेलेन नै, लोकतन्त्र, मानवअधिकार, शान्ति र न्यायप्रतिको कांग्रेसको अटल विश्वासलाई समेत धरापमा पारेको आरोप खेप्न बाध्य भएको छ ।
यसमा पार्टी सभापति शेर बहादुर देउवा मूल दोषी देखिएका छन । पराजित हुने देख्दादेख्दै विगतमा सत्र सत्र पटक प्रधानमन्त्रीको निर्वाचनमा उम्मेदवार बनेका नेता रामचन्द्र पौडेल पनि दोषको भागिदार बनेका छन् ।









प्रतिक्रिया दिनुहोस्