२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


पूर्ण खोप लगाएकालाई अब बुस्टर डोज


0
Shares

काठमाडौं । सरकारले कोभिड– १९ विरुद्ध पूर्ण खोप लगाएकालाई बुस्टर डोज दिने तयारी गरेको छ । नयाँ भेरियन्ट ओमिक्रोनको त्राससँगै स्वास्थ्य मन्त्रालयले बुस्टर डोजको अभियान सञ्चालन गर्न लागेको हो ।

‘मंसिरको अन्तिम साता वा पुसको सुरुबाट बुस्टर डोज दिन सुरु गर्छौँ,’ आइतबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले भने, ‘प्रदेश, स्थानीय र जिल्ला स्वास्थ्य कार्यालयमार्फत देशभरका १६ हजार ठाउँबाट अभियान सञ्चालन हुन्छ । सरकारी संयन्त्रलाई मिलाएर योजना सार्वजनिक गर्छौँ ।’

पूर्ण खोप लगाएकालाई सोही कम्पनीको अर्को एक डोज थप्नुलाई नै बुस्टर डोज मानिएको छ । पूर्ण खोपका लागि जोन्सन एन्ड जोन्सनको एक डोज मात्रै लगाए हुन्छ भने अन्य कम्पनीको दुई डोज लगाउनुपर्छ ।

मन्त्री खतिवडाले बुस्टर डोज दिनेबारे मन्त्रिपरिषद्मा पनि छलफल भइसकेको बताए । अघिल्लो मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री देउवाले पूर्ण खोप लगाएकालाई बुस्टर जोड चलाउन निर्देशन दिएको उनको भनाइ छ ।

‘पूर्ण खोप लगाएकालाई अर्को डोज थप्नु नै बुस्टर डोज हो । तेस्रो डोज लिइयो भने अझै सुरक्षित भइन्छ भन्ने छ । ओमिक्रोनको त्रासबीच हामी पनि यसलाई प्रयोगमा लैजाँदै छौँ,’ मन्त्री खतिवडाले भने ।

नयाँ पत्रिका