
जाजरकोट । जाजरकोट भेरी नगरपालिका–३ ठाँटीबजारदेखि पानी नाउँला जाने सडकमा आज बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् ।
सदरमुकामको मुख्यबजार रहेको ठाँटीबजारदेखि तल रहेका घर पुरिएपछि अहिले उद्धारकार्य चलिरहेको प्रहरीले जनाएको छ ।
घरभित्र मानिस रहेको अनुमान गरिएको छ । घटनास्थलमा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
गाउँपालिका अध्यक्षद्वारा पहिरो पीडितलाई सहयोग यसैगरी जाजरकोटको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले पहिरोमा ज्यान गुमाएका आफन्तलाई सहयोग गरेका छन् ।
जिल्लाको जुनिचाँदे गाउँपालिका छिर्कमा पुगेर अध्यक्ष केसीले उपचारका लागि व्यक्तिगत रकम उपलव्ध गराएका हुन ।
अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाँउपालिका–६ गर्खाकोट छिर्कमा साउन ३ गते घरमा सुतिरहेका एकै घरका तीन घाइते भएका थिए भने दुईको मृत्यु भएको थियो ।
घाइते हर्कबहादुर बुढा र उनका दुई छोरा, छोरीलाई जीवन निर्वाह गर्न भन्दै व्यक्तिगतरूपमा रु २५ हजारका दरले रकम सहयोग गरेको अध्यक्ष केसीले बताए ।
सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष केसीले घाइतेलाई जिल्ला अस्पताल जाजरकोटमा उपचार संभव नभए थप उपचारका लागि गाउँपालिकाले बाहिर उपचार गराउन सहयोग गर्ने बताए ।
पीडितलाई जिल्ला दैविक प्रकोप समितिले रु दुई लाख १६ हजार उपलब्ध गराइसकेको छ ।
पहिरोमा परी ५५ वर्षीय ललि बुढा, उनका नातिनी नौँ वर्षीया सिर्जना बुढाको पहिरोले घर पुरिदा मृत्यु थियो ।
यता, पहिरो आएर घरलाई थिच्दा धादिङको नीलकण्ठ नगरपालिका–१० भारमालेमा शनिबार राति एक बालकको मृत्यु भएको छ ।
घरमाथिको पहिरोले घर पुरिएर १३ वर्षीय सुजन पुलामीको घरले चेपिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।
घटनापछि गाउँवासीले पहिरो पन्छाए पनि शव निकाल्न नसकेको बताइएको छ ।
अबिरल वर्षाका कारण पहिरो आउने क्रम नरोकिएपछि घटनास्थलमा प्रहरी आज बिहान पुगेको छ । रासस
प्रतिक्रिया दिनुहोस्