काठमाडौं । राष्ट्रिय सभाका एकतिहाइ सदस्यको निर्वाचनअन्तर्गत आज मतदान हुदैंछ । आज बिहान १० बजेदेखि अपराह्न चार बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय सभामा रिक्त हुने १९ सिटमध्ये सातवटै प्रदेशबाट १८ जना राष्ट्रिय सभा सदस्यमा आज निर्वाचन हुन लागेको हो भने एकजना राष्ट्रपतिले मनोनयन गर्नेछिन् ।
निर्वाचनमा दुई हजार ५६ मतदाता छन् । जसमध्ये पाँच सय ५० प्रदेशसभा र एक हजार पाँच सय ६ स्थानीय तहका प्रमुख उपप्रमुख छन् ।
निर्वाचनमा पदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ हुनेछ । १८ सितका लागि विभिन्न दलका गरी ४५ उम्मेदवार छन् ।
राष्ट्रिय सभा निर्वाचनमा नेकपाले १६, नेपाली कांग्रेसले १६, समाजवादी पार्टीले ७ तथा राष्ट्रिय जनता पार्टी राजपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले २–२ जनालाई उम्मेदवार बनाएका छन् ।
प्रदेश नम्बर–१ मा महिला, दलित र अन्य समूहमा तीनजना, प्रदेश नम्बर–२ मा महिला, दलित, अपांगता वा अल्पसंख्यक र अन्य समूहमा चारजना, वाग्मती र गण्डकी प्रदेशमा महिला र अन्य समूहमा दुईरदुईजना र प्रदेश नम्बर–५ मा महिला, अपांगता वा अल्पसंख्यक समुदाय र अन्य समूहका तीनजनाका लागि निर्वाचन हुन लागेको हो ।
यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशमा महिला र अन्य समूह गरी दुईरदुईजना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।
निर्वाचनका लागि प्रदेश नं १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश नं २ को जनकपुरधाम उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन, वाग्मती प्रदेशको ललितपुर महानगरपालिका–४ वडासमिति भवन, गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्की परिसरलाई मतदानस्थल तोकिएको छ ।
यसैगरी प्रदेश नं ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेत परिसर र सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्तिनारायण उच्च माविमा मतदानस्थल निर्धारण गरिएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा हरियो रङको मसीले विवरण र निर्वाचन चिह्न तथा स्थानीय तहका प्रमुखरउपप्रमुखले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा रातो रङको मसी विवरण र निर्वाचन चिह्न उल्लेख गरी मतपत्र छापेको छ ।
फागुन २० गते राष्ट्रियसभाका एकतिहाइ अर्थात् १९ जनाको पदावधि सकिने भएपनि रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
मतदान सकिएपछि आज नै नतिजा प्रकाशन गर्नेगरी व्यवस्था मिलाएको आयोगले जनाएको छ ।
(राष्ट्रिय सभा सदस्य निर्वाचन, २०७६ को तयारी तथा व्यवस्थापन सम्बन्धमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाबाट पत्रकार भेटघाट कार्यक्रममा प्रस्तुत प्रेस नोट)
निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारको मिति २०७६ मंसिर २३ गतेको निर्णय अनुसार संवत् २०७६ माघ ९ गते बिहीबार सम्पन्न हुन गइरहेको राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि आयोगबाट आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन सम्पन्न गर्नका लागि मतपत्रसहित अन्य आवश्यक निर्वाचन सामग्रीहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयसम्म पुगिसकेका छन् । निर्वाचन हुने सात प्रदेशका उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा तोकिएको मतदान स्थलमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीलगायत सुरक्षाकर्मीहरू आवश्यक मतदानका सामग्रीहरू सहित खटिई मतदान केन्द्रको निर्माण कार्य समेत सपन्न भइसकेको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन अधिकृतको कार्यालयहरू मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा मिति २०७६ पुस १५ गते देखि स्थापना गरी सञ्चालन भएको, सम्बन्धित प्रदेशका उच्च अदालत रहेको जिल्लाका सातजना जिल्ला न्यायाधीशलाई न्याय परिषद्को सिफारिसमा निर्वाचन अधिकृतको पदमा मिति २०७६ पुस ११ गतेदेखि नियुक्त गरी निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न भएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश १ को बिराटनगर महानगरपालिकाको बीरेन्द्र सभागृहमा मतदान स्थल तोकिएको छ । यस केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तह सदस्यतर्फ २८४ गरी ३६७ जना मतदाता रहेका छन् । प्रदेश २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृती भवनमा मतदान स्थल तोकिएको छ । यस केन्द्रमा प्रदेश सभा सदस्यतर्पm १०७ र स्थानीय तह सदस्यतर्फ २७२ गरी ३७९ जना मतदाता रहेका छन् । बागमती प्रदेशको ललितपुर महानगरपालिका वडा नं ४ वडासमितिको भवनमा मतदान स्थल तोकिएको छ । प्रदेश सभा सदस्यतर्पm ११० र स्थानीय तह सदस्यतर्फ २३८ गरी ३४८ जना मतदाता रहेका छन् ।
यसैगरी गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसरमा मतदान स्थल तोकिएको
छ । यस स्थलमा प्रदेश सभा सदस्यतर्फ ६० र स्थानीय तह सदस्यतर्फ.१७० गरी २३० जना मतदाता रहेका छन् । प्रदेश ५ को घोराही उपमहानगरपालिकाकोे कर्मचारी मिलन केन्द्रको भवनमा मतदान स्थल तोकिएको छ । यस स्थलमा प्रदेश सभा सदस्यतर्फ ८७ र स्थानीय तह सदस्यतर्फ २१८ गरी ३०५ जना मतदाता रहेका छन् । कर्णाली प्रदेशको.जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसर भवनमा मतदान स्थल तोकिएको छ । यस स्थलमा प्रदेश सभा सदस्यतर्फ ४० र स्थानीय तह सदस्यतर्फ १५८ गरी १९८ जना मतदाता रहेका छन् । सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च माध्यमिक विद्यालयमा मतदान स्थल तोकिएको छ । यस स्थलमा प्रदेश सभा सदस्यतर्फ ५३ र स्थानीय तह सदस्यतर्फ १७६ गरी २२९ जना मतदाता रहेका छन् ।
यसरी सातवटा प्रदेशमा प्रदेश सभा सदस्यतर्फका ५५० र स्थानीय तह सदस्यतर्फ १,५०६ गरी कूल २,०५६ जना मतदाता रहेका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को अनुसूची १ अनुसार प्रदेश सभाका सदस्यको मतभार ४८ र स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखको मतभार १८ रहेको छ । प्रदेश १ मा महिला, दलित र अन्य समूहमा तीनजना, प्रदेश २ मा महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहमा चारजना, बागमती र गण्डकी प्रदेशमा महिला र अन्य समूहमा दुईदुई जना, प्रदेश ५ मा महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहका तीनजना, कर्णाली र सुदूरपश्चिम प्रदेशमा महिला र अन्य समूह गरी दुईदुई जना गरी कुल १८ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुनेछन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन ११ वटा राजनीतिक दलले आयोगमा दल दर्ता गराएकोमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीगरी ६ वटा राजनीतिक दलले यस निर्वाचनमा उम्मेदवारी दिएका छन् । प्रदेश १ मा रिक्त महिला, दलित र अन्य समूहमा ३/३ जनाका दरले जम्मा ९ जना उम्मेदवार, प्रदेश २ मा रिक्त महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूहमा २/२ जनाका दरले ८ जना उम्मेदवार, बागमती प्रदेशमा रिक्त महिला र अन्य समूहमा ३/३ जनाको दरले ६ जना उम्मेदवार, गण्डकी प्रदेशमा रिक्त महिला समूहतर्फ २ र अन्य समूहतर्फ३ गरी ५ जना उम्मेदवार, प्रदेश ५ मा रिक्त महिला समूहतर्फ २ जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्फ ३ र अन्य समूहतर्फ ४ गरी ९ जना उम्मेदवार, कर्णाली प्रदेशमा रिक्त महिला र अन्य समूहमा २/२ जनाको दरले ४ जना उम्मेदवार र सुदूरपश्चिम प्रदेशमा रिक्त महिला र अन्य समूहमा २/२ जनाका दरले ४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहनु भएको छ । यसअनुसार सातवटा प्रदेशमा यस निर्वाचनमा महिला समूहतर्फ १६ जना, दलितसमूहतर्फ ५ जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्फ ५ जना र अन्य समूहतर्पm १९ गरी कूल ४५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहनु भएको छ ।
प्रदेश सभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा हरियो रङ्गको मसीले विवरण र निर्वाचन चिन्ह तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा रातो रङ्गको मसीले विवरण र निर्वाचन चिन्ह उल्लेख गरी जम्मा ६,२६० थान मतपत्र छपाइ गरी राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुने प्रदेशगत समूह र मतदाता संख्याको आधारमा सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा पठाई सकिएको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं विश्वसनीय रूपमा सम्पन्न गर्न गराउन निर्वाचन आयोगले मिति २०७६ पुस २७ गतेबाट नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह लगायत निर्वाचन आचार संहिताले तोकेका सबै सरोकारवालाहरूले पालना गर्ने गरी निर्वाचन आचार संहिता, २०७२ लागू गरेको छ । निर्वाचन आचार संहिता बमोजिम ४८ घण्टा अगाडि अर्थात मिति २०७६ माघ ६ गते सोमबार राती १२ः०० बजे देखि मौन अवधि शुरु भइसकेको छ । मौन अवधिमा कुनै पनि सञ्चार माध्यमबाट निर्वाचन प्रचार प्रसार सम्बन्धी कुनै पनि कार्य गर्न गराउन पाइने छैन । मौन अवधिमा आफ्ना वेभसाइट, ट्वीटर, फेसबुक, भाइवर वा एसएमएस जस्ता सामाजिक संजाल वा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न निषेध गरिएको छ । यस अवधिमा निर्वाचन, मतदाता र मतदान कार्यलाई प्रभाव पार्ने गरी वा त्यस्तो उद्देश्य लिई छलफल, गोष्ठी, सेमिनार, अन्तरक्रिया, मतदाता शिक्षा, पत्रकार भेटघाट वा यस्तै प्रकृतिका कुनै पनि कार्य गर्न गराउन पाइनेछैन । मौन अवधिको पालन प्रभावकारी रूपमा गर्नु गराउनु भई राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्ने गराउने कार्यमा सहयोग पुर्याउन सबै मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारी, समाजसेवी, पत्रकार, विभिन्न पेशा तथा व्यवसायमा संलग्न व्यक्ति लगायत आमनागरिकलाई निर्वाचन आयोग अनुरोध गर्दछ । निर्वाचन अधिकृतको कार्यालयले आचार संहिता विपरितका कुनै कार्य गर्न प्रयत्न भएमा तत्काल रोक्न र सो को जानकारी आयोगलाई गराउन, मतदान कार्य सम्पन्न भएपश्चात आवश्यक व्यवस्था मिलाई मतगणना कार्य गर्न र नतिजा सार्वजनिक गर्न निर्वाचन अधिकृतहरूलाई निर्देशन दिई सकिएको छ ।
निर्वाचनका लागि सुरक्षा प्रवन्ध प्रभावकारी बनाएको छ । मतदान हुने जिल्ला सदरमुकाममा प्रदेश भित्रका प्रदेश सभा सदस्यहरू तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू मतदानका लागि आज साँझसम्म आइसक्ने जानकारी प्राप्त भएकोछ । बाह्य जिल्लाबाट आउने मतदाताहरूको आवागमन मार्ग तथा आवासीय स्थानहरूमा सुरक्षाको सुक्ष्म निगरानीको प्रवन्ध मिलाई सकिएको छ । भोलि २०७६ माघ ९ गते बिहीबार बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्म मतदान कार्य हुने भएकोले आयोगले निर्धारण गरे बमोजिमको परिचयपत्र लिई मतदानमा सरिक हुन सम्पूर्ण मतदाताहरूलाई आयोग अनुरोध गर्दछ ।
निर्वाचन जति स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र सर्वस्वीकार्य हुन्छ त्यति नै शासन व्यवस्था उत्तरदायी, पारदर्शी, जनमुखी र सदाचारयुक्त हुन्छ भन्ने कुरामा आयोग विश्वस्त रहेकोछ । आयोग सबै सरोकारवाला समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचन, २०७६ लाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न गराउन सहयोगको निम्ति अपिल गर्दछ ।
धन्यवाद !
मिति : २०७६ माघ ८ गते बुधबार









प्रतिक्रिया दिनुहोस्