
काठमाडौं । दशौँ महाधिवेशनको चौथो दिन सोमबार मध्यरातसम्म पनि सर्वसम्मतको कोसिस सफल नभएपछि एमालेका एक सय २६ पदका लागि एक सय ५३ जना चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । तीन सय एक केन्द्रीय सदस्यमध्ये एक सय ८९ जना निर्विरोध भए पनि बाँकी एक सय १२ सदस्यका लागि भने एक सय ३५ जनाले मनोनयन दर्ता गराएका छन् । केन्द्रीय निर्वाचन आयोगको कार्यतालिकाअनुसार पदसंख्या बराबर नै उम्मेदवारी परेका पदमा निर्विरोध भएको हो ।
१९ पदाधिकारीमध्ये पाँच निर्विरोध भएपछि अध्यक्षसहित १४ पदका लागि १८ जनाले मनोनयन दर्ता गरेका छन् । अध्यक्ष केपी ओलीले सर्वसम्मतका लागि पेस गरेको १९ सदस्यीय पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा ओलीसँगै भीम रावलले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
उपाध्यक्षमा ६ उपाध्यक्ष सर्वसम्मतिका लागि प्रस्ताव गरिए पनि घनश्याम भुसालको उम्मेदवारीसँगै सातजनाबीच चुनावी प्रतिस्पर्धा हुनेछ । जसअनुसार भुसालसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, सुवास नेम्वाङ र विष्णु पौडेलबीच चुनावी प्रतिस्पर्धा हुँदै छ ।सात सचिव सर्वसम्मतिका लागि प्रस्तुत भए पनि भीम आचार्य र टंक कार्कीको उम्मेदवारीसँगै नौजनाबीच चुनावी प्रतिस्पर्धा हुँदै छ । जसअनुसार आचार्य र कार्कीसँगै योगेश भट्टराई, गोकर्ण विष्ट, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, लेखराज भट्ट, छविलाल विश्वकर्मा र पद्मा अर्यालबीच प्रतिस्पर्धा छ ।
१९ जना पदाधिकारीसहित तीन सय एकजना केन्द्रीय सदस्य, २२–२२ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारीको नाम सर्वसम्मतिका लागि प्रस्ताव गरेका थिए । तर, ओलीको प्रस्तावलाई चुनौती दिँदै नेताहरूले विभिन्न पदमा उम्मेदवारी दिएपछि सर्वसम्मतको प्रयास सफल हुन सकेको थिएन । ओलीले पेस गरेको सूचीमा असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्यमा बढी उम्मेदवारी परेको छ । नेतृत्वले आश्वासन दिएपछि कतिपयले उम्मेदवारी फिर्ता लिएका छन् । तर, खुलातर्फ ८४ केन्द्रीय सदस्यका लागि एक सयजनाको उम्मेदवारी परेको छ ।
प्रतिक्रिया दिनुहोस्