खिलनाथ ताजपुरिया र विनोद बजगाइँ (इमेज)
काठमाडौं, माघ ६ । द्वन्द्वकालीन मुद्दाका आरोपित नेता अग्नि सापकोटालाई विधि निर्माण गर्ने थलो संघीय संसद प्रतिनिधिसभाको सभामुख बनाउने निर्णयसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को लोकतन्त्र, शान्ति र मानव अधिकारप्रतिको विश्वासमै प्रश्न उब्जिएको छ ।
प्रबुद्ध व्यक्तिहरुले नेकपाको निर्णय खेदजनक रहेको बताएका छन् ।
देशको विधि निर्माण गर्ने थलो प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया सुरु भइसकेको छ ।
सभामुखका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्नि सापकोटालाई सो पार्टीले अगाडि सारेपछि उनी नै सभामुख हुने निश्चित छ ।
सभामुखजस्तो गरिमामय पदमा पुग्न लागेका सापकोटाले यतिबेला सबैतिरबाट बधाइ पाउनुपर्ने हो ।
तर, देशका लब्धप्रतिष्ठित व्यक्तिहरुले युद्ध अपराधको आरोप लागेको व्यक्तिलाई सभामुखमा अगाडि सारेर सत्तारुढ दल नेकपाले आफ्नो लोकतन्त्र, शान्ति र मानवअधिकारप्रतिको विश्वास धरापमा पारेको ठानिरहेका छन् ।
संयुक्त राष्ट्रसंघका पूर्वसहायक महासचिव कुलचन्द्र गौतमले ट्वीटरमार्फत् ‘बलात्कारी’ सभामुखको उत्तराधिकारीका रुपमा सत्तारुढ दलबाट हत्याको अभियोगमा अदालतमा मुद्दा खेपिरहेका सापकोटालाई अगाडि सारिएबाट पीडितहरुले न्याय पाउने सम्भावना कमजोर भएको र नेकपाले कानुनी शासनको धज्जी उडाएको टिप्पणी गरेका छन् ।
उनले राष्ट्रपतिबाट युद्ध अपराधको सजाय भोगिरहेका बालकृष्ण ढुंगेलले उन्मुक्ति पाउनु र तत्कालीन माओवादी नेता पुष्पकमल दाहालबाट अगाडि सारिएका सापकोटा सभामुखमा छनोट हुनुले नेकपा लोकतान्त्रिक पार्टी भएको भन्नेमै प्रश्न खडा भएको बताएका छन् ।
सापकोटाविरुद्ध १० वर्षअघि काभ्रेका ४८ वर्षीय अर्जुन लामालाई अपहरण गरी हत्या गरेको अभियोगमा अदालतमा परेको मुद्दा विचाराधीन छ । सो मुद्दाको पेसी यही माघ २२ गते तोकिएको छ ।
सापकोटालाई सभामुख चयन गर्नु र द्वन्द्वकालीन मुद्दाको किनारा लगाउन गठन भएका दुई महत्वपूर्ण आयोगमा ‘टाउके’ नेताका खल्तीका मानिस सिफारिसमा पर्नुले द्वन्द्वकालका पीडितहरुले न्याय नै नपाउने र मुलुकमा दन्डहीनता मौलाउने आशंकालाई गलत भन्न सकिन्न ।









प्रतिक्रिया दिनुहोस्