काठमाडौं, माघ ६ । प्रतिनिधिसभाको नयाँ सभामुख चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।
सभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा सोमबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले सभामुख चयनका लागि यही माघ १२ गते निर्वाचन गर्नेगरी कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएको छ ।
प्रतिनिधिसभाका अध्यक्षको निर्देशनलगत्तै संसद सचिवालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
सार्वजनिक कार्यतालिकाअनुसार सभामुखको उम्मेदवारका लागि भोलि (मंगलबार) मनोनयनपत्र दर्ताको समय दिइएको छ । मंगलबार बिहान ११ देखि २ बजेसम्म मनोनयनपत्र दर्ता गरिनेछ ।
उम्मेदवारको सूची मंगलबारै दिउँसो २ः३० बजे नै सार्वजनिक गरिनेछ ।
प्रतिनिधिसभाको अर्को बैठक माघ १२ गते दिउँसो ३ बजेका लागि बोलाइएको छ । उक्त बैठकले नै सभामुख चयन गर्नेछ ।
यौन दुर्व्यवहारको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको छ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी समिति सदस्य एवं सांसद अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
उपसभामुख शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा दिएपछि बैठकको अध्यक्षता ज्येष्ठ सदस्य ठाकुरले गरेका हुन् ।









प्रतिक्रिया दिनुहोस्