Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


कांग्रेस महाधिवेशनः ‘गगनहरु’का भाषणले जन्मिएकी ‘कान्छी नेतृ’


0
Shares

बाबु राजु सापकोटा नेपाल विद्यार्थी संघको पूर्वजिल्ला अध्यक्ष। कांग्रेसको महाधिवेशन केन्द्रीत चहलपहलले राजुलाई छोइसकेको थियो। क्षेत्रीय प्रतिनिधि बनेर पार्टी राजनीतिमा आउने उनको अभिलाषासँगै अधिवेशनले १८ वर्षीया छोरी उषाको ‘नेता’ बन्ने उपद्रो रहर जगाइरहेकै थियो। त्यसो त, बागलुङ क्षेत्र नम्बर १ की उषालाई कांग्रेस युवा नेताहरु गगन थापा, विश्वप्रकाश शर्माहरुका विगतका भाषणले राजनीतिमा आउन प्रेरित गरिरहेकै थिए। अनि वडा अधिवेशनको मुखैमा आफ्नै बाबु समक्ष प्रस्ताव गरिन् ‘म पनि नेता बन्छु।’

परिवारले उषाको प्रस्तावलाई समर्थन संकेत जनायो, एक सर्तमा। सर्त थियो, पढाइ बिगार्न पाइन्न। नेता बन्नका लागि परिवारले दिएको यो ‘ग्रिन सिग्नल’ थियो उषाका लागि। अनि परिवारको सर्तमा मञ्जुर हुन हतारो गरिनन् उनले। ‘म पनि राजनीतिमा आउँछु र नेता बन्छु भनेर प्रसताव गरेँ,’ उषाले नागरिकसँग टेलिफोनमा भनिन्, ‘पढाइ नबिगारेर राजनीति गर्न भन्नुभयो, अनि मेरो राजनीतिका सुरुवाती पाइला बढाएँ।’

नेता बन्ने उपद्रो चाहनालाई समर्थन गरेका बाबु राजुले आफूलाई भने अधिवेशनमा मौन राखिदिए। कारण, एकै परिवारबाट धेरैजनाको प्रतिनिधित्व हुन नहुने भन्ने मानसिकता कांग्रेसीहरुमा व्याप्तै छ। अनि बाबु राजु आफू ‘ब्याक’ भए, छोरी उषालाई क्षेत्रीय प्रतिनिधिको उम्मेदवार बनाए। छोरी उषा क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत भइन्। ‘एउटै घर परिवारबाट दुईजना क्षेत्रीय प्रतिनिधि हुँदा केही असहमति देखिने जस्तो भयो,’ उषा भन्छिन्, ‘अनि बाबाले मलाई उम्मेदवार बनाउनु भयो, आफू ब्याक हुनुभयो।’

नागरिक