Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


उद्योग क्षेत्र विकासको प्रमुख आधारस्तम्भ : प्रधानमन्त्री देउवा


0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग क्षेत्र विकासको प्रमुख आधारस्तम्भ रहेको बताउनुभएको छ ।

सातौं उद्योग दिवसका अवसरमा सम्पूर्ण शुभकामना व्यक्त गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले विकासको प्रमुख आधारस्तम्भका रूपमा रहेको उद्योग क्षेत्रको गुणात्मक विकासले मात्र मुलुकको समग्र समुन्नति सम्भव हुने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले उद्यमशीलता प्रवर्द्धन, औद्योगिक उत्पादन वृद्धिका साथै कोभिड–१९ को प्रकोपबाट उद्योग क्षेत्रको पुनरुत्थान गर्नु आजको मुख्य आवश्यकता रहेको बताउनुभयो । मुलुकको समृद्धिमा उद्योग व्यवसाय क्षेत्रले पुर्‍याएको योगदानको प्रशंसा गर्दै उहाँले आगामी दिनमा आर्थिक विकासमा यस क्षेत्रको योगदान अभिवृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गर्न आह्वान गर्नुभयो ।

प्रधानमन्त्री देउवाले मुलुकको कूल गार्हस्थ्य उत्पादनको करिब १२.८ प्रतिशत र उत्पादनमूलक उद्योगको पाँच दशमलव ०८ प्रतिशत योगदान रहेको उद्योग व्यवसाय क्षेत्रबाट मुलुकको औद्योगिक उत्पादन, रोजगारी सिर्जना र आर्थिक विकासमा थप योगदान पुग्ने अपेक्षा गरेको उल्लेख गर्नुभएको छ ।

तीव्र औद्योगिक विकासका माध्यमबाट रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी समृद्ध मुलुकको आधार तयार गर्ने कार्यमा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाले बताउनुभयो । तीनै तहका सरकार र निजी क्षेत्रको समन्वयबाट उद्योग क्षेत्रको विकास र विस्तार हुन सक्दछ भन्ने कुरामा सरकार विश्वस्त रहेको उहाँले उल्लेख गर्नुभयो ।

‘स्वेदशी उद्यम र उत्पादन ः दिगो औद्योगिक पुनरुत्थान’ भन्ने नाराका साथ आज यो दिवस मनाइँदैछ ।