
प्रकाश मैनाली (इमेज)
सर्लाही, साउन १९ । सर्लाहीको ग्रामीण भेगमा बिजुलीका नांगो तार व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम बढेको छ ।
नेपाल विद्युत् प्राधिकरणले नांगो तार व्यवस्थापन नगर्दा बेलाबखत दुर्घटना हुने गरेको स्थानीयले गुनासो गरेका छन् ।
सर्लाहीका भित्री गाउँका विभिन्न बस्तीमा लत्रिएका तारहरु असरल्ल भेटिन्छन् । जसका कारण बेलाबखत केहीको मृत्यु भइसकेको छ ।
केही दिनअघि हरिपूर्वा नगरपालिकामा करेन्ट लागेर दुईजनाको मृत्यु र केही घाइते भएको घटना पछिल्लो ज्वलन्त उदाहरण हो ।
घरको छानो छुन लागेका र हिँड्दासमेत छोइनेखालका नांगा तारहरु प्रशस्तै छन् ।
यस्तो जोखिम हुँदासमेत प्राधिकरणले मर्मत–सम्भारका लागि बेवास्ता गरेको सर्वसाधारणको गुनासो छ ।
जिल्लाको बजार क्षेत्रमा विद्युत्को व्यवस्थित व्यवस्थापन भएको देखिएपनि प्रायः गाउँक्षेत्रमा अवस्था फरक छ । विद्युत् अवरुद्ध हुँदा समयमा मर्मत–सम्भार नहुनु यहाँकोे नियति नै भइसकेको छ ।
जिल्लाको हरिपूर्वा नगरपालिकाका मेयर शियाराम राय कमजोरी सुधार गर्न प्राधिकरणलाई पटक–पटक जानकारी गराउँदा चासो नदिएको बताउँछन् ।
नेपाल विद्युत् प्राधिकरण मलंगवा वितरण केन्द्रका प्रमुख माधवप्रसाद यादव भने बजेटले भ्याएसम्म जोखिमयुक्त तार र पोल मर्मत गरिने दाबी गर्छन् ।
प्रतिक्रिया दिनुहोस्